Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जलवायु परिवर्तनको असरः माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस


    मंगलबार, चैत्र २२ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । सामान्यतयाः चैत-वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जंगलका लालिगुराँस ओइलाएर झर्न लागेको छ।

    जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा समयअघि नै लालीगुराँस फुलेको हो।

    मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघदेखि नै फुलेपछि यहाँका जङ्गल र लेकाली क्षेत्रहरू समयअघि नै राताम्ये भएका थिए।

    समयअघि फुलेर राताम्यै भएका लालीगुराँस हेर्न, तस्बिर खिच्न, टिकटक बनाउन र रमाउन लेकाली क्षेत्रमा आन्तरिक पर्यटकहरूको भीड लागेको थियो।

    पछिल्लो समयमा जलवायु परिवर्तनका कारण वातावरणमा अस्वाभाविक परिवर्तन देखिँदा बाली पाक्ने, जङ्गली फलहरू पाक्ने र गुराँसको फूल फुल्ने समयमा पनि परिवर्तन आएको छ।

    जिल्लाको उत्तरी क्षेत्र घोरेपानी, शिख, घार, राम्चे, नारच्याङलगायत क्षेत्रमा केही ढिलो गरी फागुनको पहिलो सातादेखि नै लालीगुराँस फुलेको छ भने पश्चिमी क्षेत्रका अधिकांश जङ्गलमा पुसको अन्तिम सातादेखि नै फुल्न सुरु गरेको लालीगुराँस अहिले ओइलाउँदै गएर झर्न थालिसकेको स्थानीयवासीले बताए।

    मौसम परिवर्तनका कारण यस वर्ष चाँडै गुराँस फुलेपछि फुल्ने समयमा ओइलाउन थालेको भकिम्लीका मनबहादुर श्रीषले बताए।

    पश्चिमी क्षेत्रमा लालीगुराँस फुलेर ओइलाउँदै झर्न सुरु गरेपछि हेर्नेहरूको घोरेपानी क्षेत्रमा भीड लाग्न सुरु भएको पर्यटन व्यवसायीहरूले बताए ।

    घोरेपानीका जङ्गलमा ढकमक्क गुराँस फुलेपछि आन्तरिक पर्यटकको भीड लागेको थियो। ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द बनाउने गरेको छ। विश्वमा पाइने लालीगुराँसका ४२ प्रजातिमध्ये म्याग्दीका जंगलमा १६ प्रजातिका गुराँस पाइन्छन् भने नेपालमा ३२ प्रजातिका गुराँस पाइने अध्ययन प्रतिवेदनमा उल्लेख छ।

    फागुनदेखि वैशाखसम्म गुराँस फुल्ने मुख्य याम हो। गुराँस फुल्ने याम सुरू भएसँगै घोरेपानी क्षेत्र रातै भएको देख्न सकिन्छ। गुराँस फुल्न सुरु भएसँगै आन्तरिक पर्यटकको आगमन पनि बढेको स्थानीय होटल व्यवसायीहरूले बताए।

    प्राकृतिक सुन्दरतासँगै ढकमक्क फुलेका विभिन्न प्रजातिका गुराँसले मनलाई आनन्दित बनाउनाका साथै शरिरमा शुद्ध अक्सिजनको माग केही क्षणका लागि भए पनि पूरा गर्न पाएकामा खुसी लागेको काठमाडौंबाट पारिवारिक भ्रमणका लागि घोरेपानी आएका वरिष्ठ कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए।

    उता पश्चिमी म्याग्दीको भकिम्ली, वरञ्जा, अर्मनलगायत रघुगंगा क्षेत्रका पाखापानी, कोटगाउँ, दग्नाम, दर्मिजा क्षेत्रमा भने लालीगुराँस फुलेर ओइलाएको छ। विगतका वर्षहरूमा भन्दा यस वर्ष छिटो फुलेको लालीगुराँसको प्राकृतिक रंगमा समेत परिवर्तन देखिएको रघुगंगा गाउँपालिका–४ दग्नामका वडाध्यक्ष रुकबहादुर गर्बुजाले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार