Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सशस्त्रका डीआइजीकै संरक्षणमा सीमाबाट तस्करीः पाँच ट्रक मरिच र केराउ भारतमा बरामद


    मंगलबार, असार ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ९ मिनेट पाठ
  • भरत खनियाँ, नारायणदत्त पौडेल र महेश्वर उपाध्याय

    नवलपरासी । पश्चिम नवलपरासीको महेशपुरलगायतका क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा ठूलो मात्रामा संगठित तस्करी हुने गरेको कुरा उजागर भएको छ । तीन दिनअघिमात्रै भारतीय सीमा क्षेत्र ठुटीबारी गाउँमा एसएसपीले पाँच हजार बोरा लोड गरिएको ५ ट्रक केराउ, छोगडा र मरीच बरामद गरेपछि यो संगठित तस्करीको उजागर भएको हो ।

    भारतीय संचारमाध्यमहरूले यस तस्करीको समाचारलाई महत्वका साथ प्रसारण गरिरहेका छन् । कोरोना महामारीका कारण नेपाल–भारत सीमा क्षेत्र सिल गरिएको भनिए पनि सो क्षेत्रबाट ठूलो मात्रामा संगठित तस्करी भइरहेको कुरा यस घटनाले समेत उजागर गरेको छ । नेपालको महेशपुर नाका हुँदै तस्करी गरिएको केराउ, मरिच र छोगडा भारतमा बरामद भएकोबारेमा भारतीय संचारमाध्यमहरुले ब्यापक प्रचार प्रसार गर्दा पनि भन्सारको सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले भने छानबिनसम्म गरेको छैन ।

    मरिच, केराउ र छोगडा तस्करी मुख्यतः सशस्त्र प्रहरीका एसपी भरत खनियाँकै सेटिङमा हुने गरेको छ । सशस्त्र प्रहरीको ५ नम्बर प्रदेशका डिआईजी नारायणदत्त पौडेलदेखि माथि आइजीपीसम्म नै पुर्याउनुपर्ने भन्दै एसपी खनियाँले महेशपुरबाट मरिच, केराउ र छोगडाको ब्यापक तस्करी गर्दैआएको आरोप छ ।

    तस्करलाई सहयोग गरेको आरोपमा सीमा प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक महेश्वर उपाध्यायलाई ५ नम्बर प्रदेश प्रहरी कार्यालयका डिआइजी रविन्द्र धानुकले प्रदेश कार्यालयमा तानी अनुसन्धान गरिरहेका छन् । रूपन्देही घर भएका निरीक्षक उपाध्याय जागिरको दौरान यसै क्षेत्रमा लामो समयदेखि रहँदै आएका कारण उक्त तस्करीमा संलग्न तस्करहरूसँग नजिकको सम्बन्ध रहेको आरोपसमेत लाग्दै आएको थियो । तर सशस्त्र प्रहरीका एसपी खनियाँमाथि संगठनले अहिलेसम्म कुनै एक्सन लिइएको छैन । यसले पनि मरिच, छोगडा र केराउको तस्करीमा ५ नम्बर प्रदेशका सशस्त्रका डीआइजी पौडेलको संरक्षण रहेको कुरालाई पुष्टि गरेको छ ।

    सीमा सिलबन्दी गरिए पनि लकडाउनको समयमा नेपालबाट ठूलो मात्रामा नेपाली रक्सीहरू भारतमा तस्करी हुँदै आएको थियो । दुवै प्रहरीले लाइन नमिलेका तस्करहरूको मदिरा पक्राउ गर्ने गरे पनि ठूलो मात्रामा मदिराहरू भारततर्फ तस्करी हुँदै आएको कुरा स्थानीयहरू बताउँछन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले ठुटीबारी गाउँका २० घरमा लगातार २४ घण्टा छापामारी ३ हजार बोरा केराउमात्रै बरामद गरेको थियो भने छोगडा र मरीच पनि ठूलो मात्रामा बरामद गरेको भारतीय सञ्चारमाध्यमहरूले जानकारी दिएका थिए । खुला सिमाना भएका कारण लकडाउनलाई मध्यनजर गर्दै सरकारले भारतीय सीमा क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरेको छ ।

    ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिए पनि ठूलो तस्करी भइरहेको कुरा यो घटनाले उजागर गरेको छ । यति ठूलो तस्करीको संजाल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कणेल उर्फ मुन्नाबाबुको संरक्षणमा भएको समेत परासीका व्यवसायीहरू बताउँछन् । खरेल, रिंकसमेतका ४ जना तस्करको कनेक्सन कणेलसँग देखिने स्रोत बताउँछ । कणेलले सशस्त्रका एसपी खनियाँ र नेपाल प्रहरी महेशपुरका इन्स्पेक्टर उपाध्यायसँग सेटिङ मिलाएर निर्वाध रुपमा मरिच, छोगडा र केराउ तस्करी गर्ने गरेको भारतमा ५ वटा ट्रक बरामद भएपछि पुष्टी भएको छ ।

    यी तस्करहरूले लामो समयदेखि दुवै प्रहरीलाई प्रयोग गरेर तस्करी गर्दै आएको कुरासमेत उजागर भएको छ । तस्करीको यो घटना सार्वजनिक भएसँगै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले समेत परासी गई घटनाको अनुसन्धान गरेको छ ।

    तस्करी गराउन सशस्त्र प्रहरी बलका पश्चिम नवलपरासीका एसपी खनियाको प्रत्यक्ष संलग्नता र सहयोग रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । एसपी खनिया यहाँ आएदेखि नै तस्करी गराउन सक्रिय रहेको आरोपसमेत लाग्दै आएको थियो । केही महिनापहिले तस्करी गराएर तस्करसँग रकम लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एसपी खनियाकै गुल्मका सिपाहीलाई रंगेहात पक्राउ गरी मुद्दा बुझाइसकेको छ भने केही दिनअघिमात्रै आफ्नो बारीमा आवश्यक आधा बोरा रासायनिक मल ल्याउँदै गरेकी एक महिलालाई अभद्र व्यवहार गरेको कुरा पनि सार्वजनिक भएको थियो ।

    लकडाउनका बेला भारतीय सीमा सिल गरिएको अवस्थामा समेत एसपी खनियाले तस्करीको लाइन दिएको अख्तियारमा समेत उजुर परेपछि आयोगले आवश्यक अनुसन्धान र कारबाहीका लागि सशस्त्र मुख्यालयलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा सशस्त्र मुख्यालयले ५ नम्बर प्रदेश कार्यालयमा कार्यरत एसपी तीर्थ पौडेलको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो र सो समितिले छानविन गरिरहेकै बखत ५ हजार बोरा मरीच, छोहडा र केराउ तस्करी गरी भारतको ठुटीबारीमा बरामद भएको घटनाले एसपी खनिया थप छानविनमा परेका छन् । एसपी खनिया पश्चिम नवलपरासीस्थित २६ नम्बर गणमा सरुवा भई आइलगत्तैदेखि संगठितरूपमा तस्करी हुने गरेको कुरा बारम्बार सार्वजनिक भइरहेको छ । उनको संरक्षणमा भएको तस्करी धन्दाका बारेमा गृह र हेलो सरकारमा समेत उजुरी परेको बताइएको छ ।

    एसपी खनिया तस्करहरूसँग आफ्नो प्राइभेट गाडी लिई केटासमेत नलगी होटलहरूमा गएर भेट्ने गरेको कुरा पनि यहाँ उजागर भएको छ । ठूला ठूला तस्करहरूलाई होटलमा गई आफैँ भेट्ने र ससाना तस्करहरूबाट रकम उठाउने काम सिपाहीहरू उग्री दुवे र राम तेलीलाई घुमुवाका रूपमा प्रयोग गरी उठाउने गरेको कुरासमेत बाहिनीका एसपी तीर्थ पौडेलको छानविन समितिले समेत पत्ता लगाएको थाहा भएको छ ।

    सामान्य हैसियतका खनियाले काठमाडौँमा आलिशान महलदेखि महँगो निसान गाडीसमेत खरिद गरिसकेको छानबिनका क्रममा देखिएको स्रोत बताउँछ । आफ्नो प्राइभेट गाडी लिएर होटलमा गई तस्कर र व्यापारीसँग ड्रिलिङ गर्दा कसैले थाहा नपाउने भएकै कारण सबै डिलिङ होटलमा गएर गर्ने गरेको समेत छानविनका क्रममा खुलेको छ । त्यसो त डिएसपी हुँदा खनिया बुटवलस्थित औद्योगिक सुरक्षा गुल्मको गुल्मपति थिए । तत्कालीन माओवादीसँग नजिक रहेको भनी आरोप लागेका एसपी खनिया पछिल्लो समय नेकपाका महासचिव विष्णु पौडेलसँग बुटवलमा रहँदादेखिकै सम्बन्धका कारण नजिक भएपछि उनै पौडेलको दबाबमा सशस्त्र प्रहरीका लागि अति आकर्षक पोष्टिङमध्ये पर्ने पश्चिम नवलपरासीस्थित २६ नम्बर गणको गणपति बन्ने मौका पाएका थिए ।

    नेता विष्णु पौडेलकै संरक्षणका कारण पनि निजलाई बारम्बार गल्ती गरेका उजुरी र छानविनले पुष्टि हुँदा पनि कारवाही नभएको बताइन्छ । त्यसैगरी सोही गुल्ममा कार्यरत डिएसपी क्षितिज क्षेत्री पनि अनुसन्धानमा तानिएका छन् । पहिले २६ नम्बर गण नवलपरासी त्यसपछि भेडाबारीस्तिथ पूर्वी नवलपरासीको गुल्म र फेरि २६ नम्बर गण पश्चिम नवलपरासीमा सरुवा भई लामो समयदेखि सोही क्षेत्रमा कार्यरत रहेका डिएसपी क्षितिज क्षेत्रीको तस्करहरूसँग नजिकको सम्बन्ध रहेको र एसपी खनियालाई तस्करहरूसँग भेटघाट गराइदिने काम उनैले गरेको समेत बाहिनीको अनुसन्धानले समेत पत्ता लगाएको थाहा भएको छ । त्यसो त एसपी भरत खनिया स्टाफ कलेजका बेला स्टक्चर रहेका तत्कालीन डिएसपी नेत्र कार्कीलाई आफ्नो सवारी साधन प्रयोग गर्नेदेखि अनेकन प्रभावमा पारेर पहिलो भएको आरोप पनि त्यतिबेला लागेको थियो ।

    ५ नम्बर प्रदेश अन्तर्गतका सशस्त्र प्रहरीका सीमाका गण र बीओपीबाट तस्करी हुने गरेको नलपरासीको घटनाले उजागर गरेको छ । तराईका सीमा क्षेत्रबाट सशस्त्र प्रहरीका कर्मचारीहरु रंगेहात पक्राउ पर्ने क्रम बढेको छ । पक्राउ पर्नेहरुको संख्या प्रदेश नम्बर ५ मा धेरै छ । प्रदेश नम्बर ५ मा डिआईजीसम्मकै सेटिङमा तस्करी भइरहेको कुरा घुससहित रंगेहात पक्राउ परेका विवरणले पनि प्रष्ट पारेका छन् ।

    बाहिनीपति रहेका डिआईजी पौडेलले नै गण र बिओपीका इन्चार्जहरुसँग मासिक उठाउने भएकाले तस्करीमा यस्तो सेटिङ बढेको स्रोत बताउँछ । सो प्रदेशका सशस्त्र प्रहरीको कामबारे सशस्त्र प्रहरी हेडक्वार्टरमा उजुरी परे पनि छानबिन हुने गरेको छैन । सशस्त्रका आइजीपी शैलेन्द्र खनालले पौडेलका बारेमा जस्तासुकै उजुरी पनि त्यसलाई गायब पार्ने गरेका छन् । आईजीपी शैलेन्द्र खनाल आफ्नै मान्छे भएकाले जति उजुरी परे पनि केही नहुने डिआईजी पौडेलले बताउँदै आएका छन् ।

    आईजीपी खनालले समेत उजुरीउपर छानबिन नगरेपछि संस्थागत रुपमा सीमा क्षेत्रमा तस्करी भइरहेको आशंका प्रहरी अधिकारीहरुले गरेका छन् । यसले संगठन बदनाम भइरहेको उनीहरु बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार