Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डलाई शेखरको प्रश्न : कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?


    शनिबार, चैत्र १९ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • पोखरा । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरुप नलिने बताएका छन् । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने उनको भनाइ छ ।

    ‘निर्णय कार्यान्वयन गर्न अत्यन्तै गाह्रो छ । विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको छ । गर्ने त भनिदियो तर कसरी ? ,’ उनले भने, ‘अघिल्लो पटक जुन जुन पार्टीले जितेको छ, त्यो ठाउँमा सोही पार्टीलाई दिने र एमालेले जितेको ठाउँमा दोस्रो पार्टीलाई दिने प्रस्ताव प्रचण्डजीले गर्नु भो । पाँच सय ८५ पालिका कांग्रेसलाई दिन सक्नुहुन्छ ?’

    प्रचण्डले भरतपुरलाई मात्रै हेरेर गठबन्धन प्रस्ताव गरेको उनको आरोप छ । ‘तीन सय १९ पालिकामा हामी दोस्रो भएका छौं । दुई सय ६६ मा हामी पहिलो भएका छौं । पहिलो र दोस्रोसहित लिँदा कांग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ । भरतपुरलाई दिमागमा राखेर मात्रै बहस भैरहेको छ,’ उनी भन्छन्, ‘उनको प्रस्तावअनुसारको पालिका दिन साँच्चै तयार हुनुहुन्छ ? त्यो गर्न सक्नुहुन्छ ?’ सरकार गठनको बेला गरिएको गठबन्धन चुनावसम्म लैजाँदा नकारात्मक असर पर्ने उनको तर्क छ ।

    ‘दुई वटा धारजस्तो बन्यो । एउटा धार गठबन्धन गर्ने र अर्को गठबन्धन नगर्ने । हिजो गठबन्धन किन ग¥यौंभन्दा तत्कालिन सरकारले संविधान कुल्चिएर अगाडी बढ्न थाल्यो । नेपाली कांग्रेसको नेतृत्वमा अरु दल सामेल भए,’ कोइराला अघि भन्छन्, ‘त्यो गठबन्धन निर्वाचनसम्म जानुपर्छ भन्ने तर्क छ । सरकार सन्चालन गर्ने गठबन्धन एउटा हो, निर्वाचनमा तालमेल गर्नु अर्को हो भन्ने बुझ्नु जरुरी छ । त्यो नबुझिकन गठबन्धनलाई निरन्तरता दिनु अलि मिल्दैन ।’

    पोखरामा प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सनिवार अघिल्लो निर्वाचनपछि ३६ लाख नयाँ मतदाता थपिएका भन्दै उनीहरूका लागि पनि सोचेर निर्णय लिन आग्रह गरे । ‘पहिलो पटक उनीहरूले मत दिँदैछन् । उनीहरूलाई हसिया हथौडामा भोट हाल भन्यौं भने आमनिर्वाचन र त्यसपछिका चुनावमा रुखमा मत हाल भनेर कसरी भन्ने ?  यो गम्भीर विषय हो,’ उनले भने, ‘यो कुरालाई कसरी म्यानेज गर्ने ? तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ । तर, यो कुरालाई पनि हामीले मध्येनजर गर्नुपर्छ । एकातिर घरघर जाऔं कांग्रेस जिताऔं भनेका छौं । अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं । यो त मिलेन नि ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार