काठमाडौं । लकडाउनकाे कारण व्यापार व्यवसाय ठप्प भएपनि नेपाल उद्योग वाणिज्य महासंघले क्षमता भएकालाई बैंककाे ब्याज र किस्ता तिर्न अपिल गरेकाे छ । मंगलबार एक सूचना जारी गर्दै महासंघले नसक्नेको हकमा पहलकदमी लिने तर सक्नेले तिर्न आग्रह गरेकाे हो।
अहिले नै ब्याज र किस्ता तिर्न नसक्ने व्यवसायीलाई मर्का नपार्न सरकारसँग समयसीमा सार्ने पहल भइरहेको सूचनामा उल्लेख गरिएको छ।
‘हाल तिर्नसक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन अनुरोध गर्छौँ’, सूचनामा भनिएकाे छ, ‘तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्न आगामी मौद्रिक नीतिमा व्यवस्था गराउन सम्बन्धित निकायमा अनुरोध छ।’
महासंघ र नेपाल बैंकर्स संघका प्रतिनिधिहरुबीच प्रत्येक महिना बैठक बसी गुनासाउपर छलफल गरी समस्या समाधान निकाल्न कोशिस गर्ने तय भएकोले वाणिज्य बैंकहरुसँग लिएको कर्जा सम्बन्धमा कुनै गुनासो भए व्यवसयाी उद्योगी, विभिन्न कम्पनीहरुलाई महासंघसँग आग्रह गर्न समेत महासंघले भनेको छ।
