Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणपतिसँग तस्करको सेटिङः गाँजा बरामद गर्ने सशस्त्रका इन्स्पेक्टरसहित ४ प्रहरी तानिए 


    शुक्रबार, चैत्र १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी । लागूऔषध गाँजा बरामद गर्ने सशस्त्र प्रहरीका निरीक्षकसहित ४ जनालाई पुरस्कृत गर्नुपर्नेमा उल्टै दण्डित गरिएको छ । गाँजा बरामद गर्ने इन्स्पेक्टरसहितका ४ प्रहरीलाई  एसपी प्रदीप खड्काले काजफिर्ता गरेका छन् । सशस्त्र प्रहरी निरीक्षक कृष्णमान तामाङको कमाण्डमा गएको टोलीले  सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित चन्द्रनगर ईलाकाबाट ७५ किलो गाँजा २०७८ चैत १२ मा बरामद गरेको थियो ।

    सशस्त्र प्रहरीसँगको सेटिङमा तस्करी गर्दैआएको समूह तामाङको टोली देख्नासाथ गाँजाको ३ वटा बोरा फालेर भागेको थियो । तस्करको समूह भागेपछि सशस्त्रको टोलीले बरामद गरिएको ३ वटा बोरामा प्याक गरिएको गाँजा सशस्त्र प्रहरी गण नम्बर ६ मा बुझाएको थियो । तर गणपति एसपी खड्काले गाँजा बरामद गर्ने सप्रनि तामाङसहितको टोलीलाई पुरस्कृत गर्नुको साटो उल्टै कारबाहीस्वरुप गणमा काजफिर्ता गरेका छन् । सशस्त्रको माथिल्लो तहमै सेटिङ गरी गाँजातस्करी गर्दैआएको समूहले बरामद गर्ने टोलीलाई नै काजफिर्ता गराउन सफल भएको चर्चा गण नम्बर ६ सप्तरीमा हुन थालेको छ ।

    गण नम्बर ६ सप्तरीका गणपति एसपी प्रदीप खड्काले प्लाष्टिकमा पोको पारिएको ३ वटा पोका (९८ किलो गाँजा) चैत १२ मा बरामद भएको स्वीकार गरे । उनले भने–गाँजा तस्करको समूहले पनि सुराकी राखेका हुनसक्छन् । उनीहरु सशस्त्रको टोली आएको सूचना सुराकीबाट पाएपछि भाग्न सफल भएका छन् । गाँजा कारोबारीहरु पक्राउ गर्न नसकिएको उनले बताए । तस्करहरुसँग सेटिङ भएकाले गाँजा बरामद गर्ने सशस्त्र प्रहरी निरीक्षकसहित ४ जनाका काजफिर्ता गरिएकोबारेमा एसपी खड्काले भने–‘काजफिर्ता गरिएको कुरा सत्य होइन ।’ काजफिर्ता गरिएको कुरालाई बिषयान्तर गर्दै उनले भने–‘गाँजा तस्करहरुले पूरै तयारी गरेका हुन्छन् नि ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार