डोटी । बैंककाे कर्मचारी बन्दै कराेडौैकाे लालच देखाइ १० लाख ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ । यसरी पक्राउ पर्नेमा डाेटीका ३५ वर्षीया सञ्जाकुमारी कठायत रोकाया र ३२ वर्षीय पदमराज भट्ट रहेकाे छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाले दुईजना पक्राउ परेकाे जानकारी दिए ।
आफूहरु नेपाल बैंक लिमिटेडको शाखा अधिकृत भएको र १० लाख दिएमा साढे तीन करोडको ऋण पास गरिदिन्छु भन्दै कैलालीको टिकापुर नगरपालिकाकी ४४ वर्षीया एक महिलालाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएकाे छ ।
उनीहरु दुवैजनालाई डोटीको पिपल्लाबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट नेपाल बैँक लिमिटेडको शाखा प्रबन्धकको नक्कली परिचयपत्र, विभिन्न बैंक तथा आईएमईका भौचर समेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरुले कैलालीमा ठगी गरेका कारण कैलालीबाट नै मुद्दा चलाउने गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइने डाेटी प्रहरीले जनाएकाे छ ।