Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन्दरीजल टिपर दुर्घटना: दिदीबहिनीको शव १० घण्टापछि उठ्यो, टिपर कम्पनीले ४५ लाख दिने


    बुधबार, चैत्र १६ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बुधबार सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ । आज बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिका दिदी बहिनीको ज्यान गएको थियो ।  

    दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो । टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घाइतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो । 

    सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १ का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए ।  

    ठक्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् ।  

    त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पीडित परिवारले दुवै जनाको शव बुझेर लगेका हुन् । 

    आज बिहान ८ बजेतिर बुबा रोहन तामाङसँग मोटरसाइकलमा जाँदै गरेका ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेयाको टिपरको ठक्करबाट ज्यान गएको थियो । स्थानीय वर्ल्ड यूथ इन्टरनेसनल स्कुलमा सृष्टि २ मा र श्रेया नर्सरीमा पढ्ने दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो । 

    मेलम्ची चोक नजिकै ब्याक गर्दै गरेको बा४ख ६९६५ नम्बरको टिपरले उनीहरूलाई किचेको थियो। गम्भीर घाइते रोहनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ। 

    घटनापछि आक्रोशित स्थानीय र आफन्तले टिपरमा आगजनी गरेका थिए । मेलम्ची चोकको स्थानीयले प्रदर्शन समेत गरेका थिए । स्थिति नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार