काठमाडौं । नेपाल प्रहरीले संगठनका लागि अत्यावश्यक सुरक्षा सामग्री खरिदका लागि गरेको टेण्डर सेटिङ नमिलेकै कारण रद्द भएको छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको अवकाशको दिनभन्दा ३ दिनअघिमात्रै उक्त टेण्डर रद्द गरिएको हो । जबकि गत जेठ ३ गते टेण्डरको सूूचना प्रकाशित भएको थियो । ४९ दिन बित्दा पनि टेण्डर न त स्वीकृत गर्ने न त रद्द नै गरियो, अड्काएर राखियो । अन्तिम समयमा आएर टेण्डर रद्द गरेका कारण प्रहरीको करोडौँ बजेट फ्रिज हुने भएको छ । जबकि संगठनका लागि यी सामग्रीहरू अत्यावश्यक थिए । केही ठेकेदारहरूले नक्कली गुणस्तर पास भएको पत्र ल्याएको कुरा सार्वजनिक भएपछि प्रहरी मुख्यालयले यसको निर्णय गर्न नसकेको बताइन्छ ।
विवादमा पर्न नचाहने र आफू अवकाशको मुखमा रहेका कारण पनि हिजोबाट अवकाश भएका आइजिपी ज्ञवालीले निर्णय गर्न पनि हिच्किचाएको बताइन्छ । केही ठेकेदारहरूले चाइनाको नक्कली रिपोर्ट पेश गरेका कारण यो टेण्डर प्रक्रिया विवादमा परेको थियो । प्रहरीको प्रबन्ध निर्देशनालयले टेण्डर प्रक्रिया आह्वान गर्दा आधिकारिक टेष्ट रिपोर्ट चाहिने प्रावधान राखेको थियो जबकि अन्य लत्ताकपडाहरूमा एसजीएस र आइटिएसको रिपोर्ट भनिएको हुन्छ तर यो सुरक्षा सामग्रीको टेण्डर प्रक्रियामा भने कुनै कम्पनीको नतोकी आधिकारिक टेष्ट रिपोर्टमात्रै उल्लेख गरिएको थियो ।
प्रहरीले राइट कन्ट्रोल गियर २ हजार थान, क्राउडेड हेल्मेट ८ हजार थान, हत्कडी ६ हजार थान र सिलढाल २ हजार थानको टेण्डर आह्वान गरेको थियो । यही टेण्डर प्रक्रियाको कागजात बुझाउने क्रममा टेण्डर फाराम भरी बुझाएका केही कम्पनीहरूले चाइनिज नक्कली टेष्ट रिपोर्ट हालेको खुलासा भएको थियो ।
टेण्डर फाराम भर्ने कम्पनीहरूले भारतीय र चाइनिज कम्पनीहरूको टेष्ट रिपोर्ट हालेको भए पनि भारतीयका हकमा सम्बन्धित कम्पनीको आधिकारिक पत्र, सम्पर्क नम्बर, इमेल ठेगाना प्रष्ट रहेको देखिन्छ । जुन कुरा प्रहरी मुख्यालयले पत्राचार वा सोधेर पनि आधिकारिक हो होइन पत्ता लगाउन सक्दछ तर चाइनिज टेष्ट रिपोर्ट हाल्नेका हकमा न त कम्पनीको आधिकारिक सम्पर्क नम्बर, इमेल, ठेगाना केही पनि उल्लेख छैन । कहाँ कसलाई सोध्ने ? त्यसैले पनि प्रबन्ध निर्देशनालयका एक जिम्मेवार अधिकृतले भने–चाइनिज टेष्ट रिपोर्ट हाल्ने कम्पनीहरूले नक्कली रिपोर्ट हालेको देखिन्छ । राइट कन्ट्रोल गियरका लागि ठेक्का हाल्ने कम्पनीहरूमा– निलगिरी इन्टरप्राइजेजले २,५०,८६० डलर, एडी सप्लायर्सले २,७५,७२० डलर, तेज समले ३,२५,४४० डलर, रचनाले ३,२९,९६० डलर, पूजा ट्रेडिङले ३,५७,९८७ डलरमा टेण्डर भरेका थिए ।
त्यसैगरी हेल्मेटका लागि पूजा ट्रेडिङले ७४,२१,८४० भारतीय रूपैयाँ, निलगिरीले १,१४,३५६ डलर, आमो इन्टरप्राइजेजले १,२६,५६० डलर, एडि सप्लायर्सले १,२६,५६० डलर, प्लस प्वाइन्टले ९८,९८,८०० भारु र रचनाले १,५०,१५४ डलरमा टेण्डर बिट गरेका थिए । हत्कडीका हकमा एरिस टेक्नोलोजीले १२,२०४ डलर, एडि सप्लायर्सले ७०,९१८।८० डलर, दिव्या इन्टरनेशनलले ७४,५८० डलर, पूजा ट्रेडिङले ७४,५८० डलर, आमो इन्टरप्राइजेजले ८१,३६० डलर र रचनाले ८२,८५१ डलरमा टेण्डर बिट गरेका थिए । त्यसैगरी सिटढालका हकमा रचनाले ७२,८१७।२० डलर, नीलगिरीले ५७,६३० डलर, एरिस टेक्नोलोजीले ८८,१४० डलर, एडि सप्लायर्सले ७२,३२० डलर, पूजा ट्रेडिङले ५५,९३,५०० भारु र प्लस प्वाइन्टले ६७,५७,४०० भारुमा टेण्डर बिट गरेका थिए ।
अघिल्ला आइजीपी ठाकुर ज्ञवालीसँगै अवकाश भएका प्रबन्ध निर्देशनालयका डीआइजी सूर्य उपाध्याय र इन्स्पेक्टर केशव गौतमबीचको विवादका कारण पनि टेण्डर रद्द भएको प्रहरी स्रोत बताउँछ । उनीहरुबीच ठेकेदारबाट प्राप्त कमिसनमा कुरा नमिलेका कारण बैमनस्यता बढेको थियो ।
प्रहरीका कम्युटर निर्देशनालय, संचार निर्देशनालय र एमटीको समेत टेण्डर एक्लौटी ढंगले प्रबन्धबाट आफैंले गर्ने र आएको कमिसन ठेकेदारले दिएको छैन भन्दै आइजीपीलाई नदिएको आरोप गौतममाथि छ । तत्कालीन आइजीपी ठाकुर ज्ञवालीको कार्यकालमा गौतमले ठेकेदारबाट करिब ४ करोड भन्दा बढी कमिसन लिएर एक्लै चप्काएको उनका सहकर्मीहरुबीच चर्चा सहकर्मीहरुबीच हुने गरेको छ ।
यस्ता विवादित गौतमलाई निष्कलंक छवि कायम राखेका वर्तमान आइजीपी शैलेश थापाले थापाले निरन्तरता दिनलागेका छन् । उनलाई प्रबन्धै निरन्तरता दिनका लागि आइजीपी थापाका निकट हुँ भन्दैआएका डीएसपी गोविन्द कार्की लागेका छन् । स्मरण रहोस्, सर्वेन्द्र खनाल आइजीपीमा बहाली भएकै दिन प्रबन्ध शाखामा कार्यरत तत्कालीन प्रहरी निरीक्षक बलराम खत्रीलाई हटाइएको थियो । र गौतमलाई प्रबन्धमा ल्याइएको थियो ।