काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकका लागि २१ जनाले आवेदन दिएका छन् । कार्यकारी निर्देशकको आवेदन दिने अन्तिम दिन आइतबारसम्म २१ जनाको आवेदन परेको छ । आवेदन दिनेहरुमा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक अशोक बाँस्कोटा र रेडियोकै हाकिम बुद्धि केसीसहित नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक लक्ष्मण हुमागाईसम्म छन् ।
त्यस्तै कार्यकारी निर्देशकका लागि आवेदन दिनेहरुमा दीपक पाठक, रामहरि सिलवाल, सन्तोष पौडेल लगायतले पनि आवेदन दिएका छन् । आवेदकमध्ये रेडियोका दुई मध्ये केसीको संभावना बलियो भएको बताइन्छ ।
हुमागाई हाल इमेज टेलिभिजनका सीईओ हुन् । उनी यसअघि जनता टेलिभिजनमा पनि सीइओ थिए । महेन्द्र बिष्ट इमेजबाट बाहिरिएपछि हुमागाई गएका हुन् । टेलिभिजनको महाप्रबन्धक भइसकेका हुमागाईले रेडियोमा आवेदन दिनुलाई उनको पदलोलुपता झल्काएको आरोप छ । उनी पूर्वसंचार मन्त्री गोकुल बाँस्कोटाको नाम लिंदै कार्यकारी निर्देशक हुने दौडमा छन् ।
दीपक पाठक रेडियो नेपालका संचालक समिति सदस्य हुन् । प्रधानमन्त्री केपी ओलीको जिल्ला झापाकै भएको र प्रधानमन्त्रीसँग निकट भएका नाताले पनि कार्यकारी निर्देशक हुने अपेक्षाका साथ उनले एक नम्बरमै आवेदन दर्ता गराएका छन् । सन्तोष पौडेल पूर्व माओवादी पृष्ठभूमिका हुन् । उनी यसअघि राम कार्की संचार मन्त्री हुँदा पनि रेडियोको कार्यकारी निर्देशकका दाबेदार थिए । तर कार्कीले सुरेशकुमार कार्कीबाटै लाभ लिई नियुक्ति गरेपछि उनी जिल्लिएका थिए ।