काठमाडौं । मनसुन अहिले उच्च विन्दुमा रहेकाले अझै पानी पर्ने प्रक्षेपण गरिएकाे छ । तीन दिनदेखि लगातार वर्षा भइरहेको र सोमबारसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
देशका अधिकांश क्षेत्रमा पानी पर्ने भएकाले बाढी आउन सकिने समेत विभागले जनाएको छ। विभागले केही नदीमा पानीको वहाव खतराको तहसम्म पुग्ने प्रक्षेपण गरेको छ।
आइतबार बिहान जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरि सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, कमला, बागमती र नारायणीमा पानीको बहाव सतर्कता आसपास हुनेछ। कन्काई नदीमा जलस्तर खतरा तहसम्म पुग्नसक्ने छ।
त्यस्तै, प्रदेश १, २ र ५ को चुरे र तराईबाट बहने साना नदीमा आकस्मिक बाढी हुने उच्च सम्भावना रहेको छ। झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहालगायत प्रदेश २ भई बहने साना नदीमा बहाव उच्च हुने महाशाखाको भनाइ छ।
बाढीको सम्भावना भएकाले तराईमा डुबानको समस्या आउनसक्ने जनाएको छ। जसले गर्दा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।
आज रातिदेखि नै ईलाम, झापा, मोरङ, सुनसरी,उदयपुर, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर र आसपास मध्ययमदेखि भारी वर्षा हुने भएको छ। जसले गर्दा विरिङ, निन्दा, कन्काई, मावा–रतुवा, लोहन्द्रा, चिसाङ खोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बालन, खुट्टी चुरियाखोला, माउली, बकैयालगायतका नदीमा बाढी आउने जनाएको छ।
ती क्षेत्रका बासिन्दालाई सचेत गराउन एसएमएस पठाइएको छ। तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
यस्तै, बागमती र गण्डकी प्रदेशमा पनि वर्षा हुने अनुमान गरिएको छ। जसले गर्दा दुवै प्रदेशका नदीहरुमा बाढी आउने जनाएको छ।
कर्णाली र सुदूरपश्चिममा भने अन्य प्रदेशको तुलनामा कम वर्षा हुने विभागले जनाएको छ। तथापी दुवै प्रदेशका अधिकांश नदीहरुमा पानीको सतह बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाको प्रक्षेपण छ।