Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीमा पछिल्लो २४ घण्टामा बाढीले ९ को मृत्यु, ७ बेपत्ता


    शुक्रबार, असार २६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • सुर्खेत । कर्णालीमा लगातारको बर्षाका कारण बाढीले घर बगाउँदा पछिल्लो २४ घण्टामा नौ जनाले ज्यान गुमाएका छन् भने सात जना अझै बेपत्ता छन् । जाजरकोटको बारेकोटमा सात जना र रुकुमको आठवीसकोट नगरपालिकामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको हो ।

    बिहीबार राति जाजरकोटको बारेकोट–४ सार्की गाउँमा गोपाल सार्की र कलु सार्कीका घर पहिरोले बगाउँदा सात जनाको मृत्यु भएको हो । पाँच जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठका अनुसार मृतक मध्ये पाँच जनाको सनाखत भएको छ । बारेकोट–४ सार्की टोलका ५३ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की, १४ वर्षीया तिर्खा सार्की र पाहुना आएका कुशे गाउँपालिका–९ चौराटाका २० वर्षीया डिल्ली सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको सनाखत भएको हो । शव फेला परेका दुई जनाको सनाखत भएको छैन । डिएसपी श्रेष्ठले क्षतविक्षत भएकाले शवको पहिचानमा समस्या भएको बताए ।

    प्रहरीका अनुसार गोपालकी श्रीमती पुष्पा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की, ४० वर्षीया कलु सार्की, ११ वर्षीया छोरी कमला सार्की, छ वर्षको छोरा सुभाष सार्की, कलुको घरमा पाहुना आएका १४ वर्षीया गौरी सार्की र १६ वर्षीया कविता सार्की बेपत्ता छन् ।

    पहिरोले घर पुरिएको क्षेत्रमा बर्षा नरोकिएकाले उद्दारमा कठिनाई भइरहेको छ । गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बर्षाका कारण उद्दारकार्य रोकिएको बताए । बारेकोट गाउँपालिका–४ कै लालबहादुर नेपाली लगातारको बर्षाले घर भत्कँदा गम्भीर घाइते भएका छन् । उनको हेलिकोप्टरमार्फत उद्दार गर्ने भनिएपनि प्रतिकुल मौसमका कारण समस्या उत्पन्न भएको डिएसपी श्रेष्ठले बताए ।

    बारेकोटकै धुम खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बगेका चार जना मध्ये दुई जनालाई स्थानीयले उद्दार गरेका छन् । २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण बारेकोटको अधिकांश बस्ती पहिरोको जोखिममा छ । यहाँका दुई सय बढी परिवारका सर्वसाधारणहरु घर छोडेर विद्यालय र जंगलको खुल्ला ठाउँमा गएर बसेका छन् ।

    रुकुम पश्चिममा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते छन् । आठवीसकोट नगरपालिका–३ स्यालाखदीमा तुलबहादुर दमाइको घर पहिरोले पुर्दा उनकी श्रीमती २८ वर्षीया सीता दमाई र छोरा ६ वर्षीय हाविलको मृत्यु भएको हो ।

    शुक्रबार बिहान ६ बजेतिर पहिरोले घर पुरिदिँदा उनकी ८ वर्षीया छोरी हिरा परियार घाइते भएकी छिन् । घाइतेको उद्दार भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार तुलबहादुरको एक तले पुसको घर पहिरोले पुरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार