काठमाडौं । सरकारले आजदेखि छोटो दुरीका सार्बजनिक यातायात सञ्चालन गर्न अनुमति दिएतापनि यातायात व्यवसायीहरूले तत्काल यातायात सञ्चालन नगर्ने निर्णय गरेका छन् । व्यवसायीले सरकारसँग विभिन्न शर्तहरू राख्दै पूरा नभएसम्म सवारी चलाउन नसकिने निर्णय गरेको हो ।
शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बसेको केन्द्रीय कमिटी बैठकले वातावरण तयार गर्न सरकार उदासीन भएको भन्दै तत्कालको अवस्थामा सार्वजनिक सवारी नखुलाउने निर्णय गरेको हो ।
महासंका महासचिव सरोज सिटौलाले बैङ्कको ऋण किस्ताको पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, पुनर्कर्जाको व्यवस्थालगायतको माग सम्बोधन नभएकाले तत्कालै कुनै खालका सार्वजनिक सवारी नचलाउने निर्णय भएको बताए।
सरकारले सहुलियपूर्ण कर्जाको व्यवस्था नगरे धेरै व्यवसायीसँग गाडी सडकमा निकाल्ने खर्च नै नहुने उनीहरूको तर्क छ ।
‘थन्किएकै ठाउँबाट एउटा बाहिर निकाल्न डेढदेखि २ लाखसम्म खर्च गर्नुपर्ने अवस्था छ, यति लामो समय सवारी बन्द गर्दा ऋणले थिचिएका हामीलाई सहुलियत र सहयोग हुनेगरी सरकारबाट कुनै प्याकेज आएन,’ सिटौला भन्छन्,’एकरदुई जना सक्षम व्यवसायीले सवारी निकाल्न पनि सक्लान्, तर अधिकांश व्यवसायी अवस्था पीडामा छन्, कुनै न कुनै रूपमा सम्बाधेन नभई सवारी चलाउँदैनौं ।’
महासंघले चालक तथा सहचालकको स्वास्थ्य सुरक्षाका लागि बिमाको ग्यारेन्टी गर्नु माग पनि गरेको छ । भोलि सार्वजनिक सवारी चले पनि रोग संक्रमण फैलाएको आरोप लाग्न सक्ने भन्दै महासंघले सवारी चल्नुअघि नै त्यस्तो जोखिमको मूल्याङ्कन गरेर योजना बनाउनुपर्ने माग गरेको छ ।
महासंघले हाल गाडीको सबैजसो कागजपत्रको म्याद सकिएको भन्दै त्यसको नवीकरणबारे पनि सरकारले नीति ल्याउनुपर्ने माग गरेको छ।