काठमाडौं । जग्गा व्यवसाय गर्दै आएका बुढानिलकण्ठ–२ चपलीका हरिशकुमार (काल्पनिक नाम) को मोबाइलमा एक दिन अपरिचितको कल आयो ।
उनले फोन उठाए । हरिशकुमारलाई उनी विरुद्ध जग्गा विवाद भएकाे भन्दै अख्तियारमा उजुरी परेको र अनुसन्धान प्रक्रिया अघि बढेको कुरा फाेनमा बताइयो । अकस्मात यस्तो फोन आएपछि हरिशकुमार तनावमा आए ।
केहीसमय पछि फेरि उनलाई कल आयो, यो विषयलाई लेनदेन गरेर मिलाउने भए आफूसँग भेट्ने भन्दै । हरिशकुमारले आफूलाई धम्की दिने सँग भेटे र कुरा बुझ्न खोजे । हरिशकुमारलाई भेट्न आएका थिए ज्योतिषीको परिचय बनाएका अर्जुन क्षेत्री ।
समूहमा आएका क्षेत्री आफू अख्तियारको सहसचिव रहेको र जग्गाको विवाद मिलाउने भए ४ करोड दिन माग गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ ।
अर्जुनको समूहले ठूलो रकम मागेकाले आफूले दिन नसक्ने बताएपछि फोन र एसएमएस मार्फत् बार्गेनिङ चलेको र ५० लाखमा फाइनल डिल भएको थियो ।
रकम डिल भएपनि व्यवसायी हरिशकुमारले यसको उजुरी अख्तियारमा गरिसकेका थिए । रकम लिन भन्दै आएको अर्जुन र उनका सहयोगीलाई महानगरीय अपराध महाशाखाबाट खटेको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । अर्जुन र उनका सहयाेगीलाई अपराधिक लाभ लिन खाेजेकाे अभियाेगमा पक्राउ गरिएकाे अख्तियारले जनाएकाे छ ।
महाशाखाले बिहीबार अर्जुनसँगै विजय रावल, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भु प्रसाद रेग्मी, शंकर बिक्रम खड्का, श्याम सिंह थापा र विवेक पोखरेललाई पक्राउ गरेको थियो । उनीहरु मध्ये केहीलाई गौरीघाटबाट र केहीलाई पुरानो बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा टेकु पठाइएको समेत प्रवक्ता कोरालाले जानकारी दिए ।