बेनी । अविरल वर्षाकाे कारण म्याग्दीमा बाढी र पहिराेकाे समस्या बढ्दै गएकाे छ । शुक्रबार मात्रै बाढीले बगाएर एकजनाको मृत्यु र एकजना वेपत्ता भएका छन् । स्थानीय लापु खोलाले बगाएर ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
गाईभैसीलाई घाँस दिन गोठमा जाने क्रममा छन्त्याललाई बगाएको थियो । घटनास्थलदेखि ३ सय मिटर पर उनको शव भेटिएको छ । यसैगरी दुखु खोलाले बगाएर स्थानीय ४० वर्षीया गीता रोकालाई वेपत्ता बनाएको छ । खोला तर्ने क्रममा वेपत्ता भएकी रोकाको खोजी जारी छ ।
यसैगरी बेनी नगरपालिका-७ मंगलाघाटमा रहेको प्रहरी विटको भवन समेत म्याग्दी नदीको कटानले भत्किएको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङको राम्चे, रिख, कल्लेनी, कुम्री, ठूलोगाउँमा गएको पहिरोमा २४ जना हराइरहेका छन् । मालिका गाउँपालिका-७ बिमको नौरु, तल्लोगाउँ, दुलेको पहिरोमा आठजना वेपत्ता छन् ।
सुरक्षाकर्मी घटनास्थल पुगेर वेपत्ताको खोजी र उद्धारमा जुटेका सीडीओ ज्ञाननाथ ढकालले बताए । भौगोलिक विकटता, सडक तथा पैदलमार्ग अवरुद्ध भएको र निरन्तरको वर्षाले समस्या भएको छ ।