डा. उज्वल न्यौपाने
१ के हो कोरोना ?
कोरोनाभाइरस एउटा आर.एन.ए. (RNA) भाइरसहरुको समूह् हो, जसले पंक्षी तथा स्तनधारी जीवहरुमा विभिन्न रोगहरु उत्पन्न गराउँछ । मानिसमा कोरोना समूहको भाइरसहरुले सामान्य रुघाखोकीदेखि घातक स्वासप्रस्वास सम्बन्धी रोगहरु निम्त्याउने गर्छ । कोरोनाले गराउने घातक रोगहरुमा सार्स (SARS), मर्स (MERS) र अहिले देखापरेको कोभिड–१९ पर्दछन् ।
विभिन्न जीवहरुमा कोरोनाको लक्षणहरु भिन्नभिन्न हुन सक्दछ । कोरोनाभाइरस पहिलो पटक १९३० मा कुखुरामा देखिएको थियो । मानिसमा भने पहिलो कोरोना भाइरस १९६० मा भेटिएको थियो । यो भाइरस देखिएको एक शताब्दी पनि नभएको भएता पनि यसको उत्पत्ति भने ८००० बी.सी. तिर नै भएको अनुमान गरिएको छ ।
२. सार्स कोरोनाभाइरस–२ के हो ?
कोरोनाभाइरस रोग २०१९ (कोभिड–१९) पहिलो पटक वुहान, चीनमा गम्भीर स्वासप्रस्वास सम्बन्धी रोग भएको बिरामीमा देखिएको थियो । २०१९ को डिसेम्बरको दोस्रो साता देखापरेको यो भाइरसलाई सार्स कोरोनाभाइरस २ (SARS-COV-2) भनेर बैज्ञानिक नाम दिइएको छ । पहिलो पटक देखिएको यो भाइरसले यो लेख तयार गर्दैगर्दा सम्म १ करोड १० लाखभन्दा बढीलाई संक्रमित बनाइसकेको छ भने ५ लाख २४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । सजिलै एक अर्कामा सर्नसक्ने र बृद्ध तथा विभिन्न स्वास्थ समस्या भएका बिरामीलाई सजिलै गम्भीर अवस्थामा पु¥याइदिन सक्ने क्षमताले गर्दा यो भाइरसलाई विश्वभर गम्भीर रुपमा लिइएको छ । महामारी गराउने नोभेल कोरोनाभाइरसमा सार्स र मर्स पछि यो सार्स–कोभी–२ भाइरस तेस्रोमा पर्दछ । देखापरेपछि यो भाइरसमा विभिन्न उत्परिवर्तन आएर अहिले झन् शक्तिशाली हँुदै गएको वैज्ञानिकले अनुमान गरेका छन् ।
३. यो रोग कसरी लाग्छ ?
वैज्ञानिकहरुले धेरैजसो कोरोनाभाइरस चमेरामा पाइने आँकलन गरेका छन् र यो कोभिड–१९ गराउने भाइरस पनि चमेरोबाटै सरेको अनुमान गरिएको छ । यो संक्रमित ब्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट अर्को ब्यक्तिमा सर्दछ । यी छिट्टाबाट भाइरस विभिन्न सतहमा रहेर पनि ती स्रोतबाट एक अर्कामा सर्नसक्छ । जनावरबाट भने मानिसमा सर्ने नसर्ने एकीन केही प्रमाण फेलापरेको छैन ।
४. लक्षण के के हुन्छन् ?
अधिकांश संक्रमित व्यक्तिमा सामान्य रुघाखोकी, शारीरिक थकान तथा ज्वरो देखिन्छ र कुनै औषधि उपचार विना नै आफैं निको हुन्छ । संक्रमण भएको २ दिनदेखि १४ दिनसम्ममा सामान्यतया विभिन्न लक्षण देखिन सक्छ र यो अवधिलाई इन्कुबेसन समय भनिन्छ । यो समयमा देखापर्ने लक्षणहरुमा कामज्वरो, स्वास फेर्न गाह्रो हुने, थकान, मांसपेसी दुख्ने, गल्ने, टाउको दुख्ने, जिब्रोको स्वाद लिने शक्ति र नाकको सुँघ्ने शक्ति कम हुने, नाकाबन्द हुने, वाकवाक लाग्ने, घाँटी खसखस गर्ने, वान्ता आउने, पखाला लाग्ने आदि पर्दछन । बृद्ध तथा पुरानो रोगजस्तैः– चिनीरोग, मुटु सम्बन्धी रोग, फोक्सोको रोग भएका विरामीलाई यो भाइरसले जटिल समस्याहरु निम्त्याउन सक्छ ।
न्यूमोनिया, तीब्र स्वासप्रस्वास प्रणाली फेल हुले, ए.आर.डी.एस. (ARDS) जस्ता जटिलता केही बिरामीमा आउन सक्छन् । जसका लागि आस्पताल सेवा अत्यावश्यक हुन्छ र गहन देखभाल इकाई (आई.सी.यु.) अन्तर्गत राखी भेन्टिलेटर समेत प्रयोग गर्नुपर्ने हुनसक्छ । यी जटिलता देखापर्नेमध्ये २५–४५ प्रतिशतले ज्यान गुमाउन सक्ने समेत तथ्यांकले देखाएको छ । तसर्थ सी.डी.सी. ले स्वासप्रस्वासमा समस्या, छाती दुख्ने, ओठ निलो हुने तथा कोरोनाका अन्य शंकास्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ ।
५. जाँच के छ त ?
कोभिड–१९ को जाँच गर्न कनोरोना बिरुद्ध शरीरले उत्पादन गर्ने एन्टिबडीको माध्यमबाट गरिन्छ । यसका लागि धेरै जाँचहरु छन् । नेपालमा भने पी.सी.आर. अथवा आर.डी.टी. बाट कोरोना जाँच गर्न सकिन्छ । पी.सी.आर.परीक्षणको लागि घाँटीको पछिल्लो भागबाट स्वाब लिएर जाँच गरिन्छ । आर.डी.टी माकुनै भाइरसले उत्पादन गर्ने एन्टीजेनको मात्रा जाँच गरिन्छ । लक्षण दाखिएका बिरामी, पोजिटिव केसको सम्पर्कमा आएका व्यक्ति, स्वास्थ्यकर्मी, क्वारेन्टाइनमा राखिएका बिरामीमा पी.सी.आर. जाँच गरिन्छ । सम्भावित कोरोनाको विरामीको सेवामा अग्रपंक्तिमा कार्यरत सबै स्वास्थकर्मीमा आर.डी.टी. जाँच गरिन्छ र पोजिटिव आएमा पी.सी.आर. गरिन्छ । हालसम्म स्वास्थ्य मन्त्रालयअन्तर्गत टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बिभिन्न प्रादेशिक अस्पतालहरु र सरकारले तोकेका सरकारी अस्पतालहरुमा यी जाँचको ब्यवस्था गरिएको छ । पी.सी.आर. पोजेटिव देखिएका तर सामान्य लक्षण भएका बिरामीलाई देशभरका बिभिन्न क्वारेन्टाइनमा राखिन्छ । साथै संबेदनशील बिरामीलाई भने आइसोलेशन वार्डमा राखी आवश्यक उपचार गरिन्छ । पोजेटिव देखिएका बिरामीको ३ वटा जाँच नेगेटिव आएपछि रोगमुक्त घोषणा गरी डिस्चार्ज गरिन्छ ।
६.उपचार के छ त ?
कोरोनाभाइरसको रोकथामको लागि एफ.डी.ए. प्रमाणित कुनै औषधि छैन तर हरेक दिन बिश्वभर बिभिन्न संस्थाले औषधि तथा खोप पत्ता लगाउन नयाँ नयाँ अध्ययन अनुसन्धान गरिरहेका छन् । यस भाइरसको निवारणका लागि विभिन्न औषधिहरुको प्रयोगको अध्ययन अन्तर्गत क्लोरोक्विन (CHLOROQUINE) तथा हाइड्रोक्सिन–क्लोरोक्विन (HYDROXYCHLOROQUINE), रेम्डेसिभर (REMDESIVIR), आइभरमेक्टिन (IVERMECTIN) आदिको अध्ययनमा सकारात्मक नतिजा देखिएको छ । अध्ययन अनुसार मलेरियामा प्रयोग गरिने क्लोरोक्विन औषधिले कोरोना लाग्न नदिने तथा रेम्डेसिभर नामक औषधिले भाइरसको प्रजनन्मा बाधा पु¥याएर रोगको निवारण गर्न सहयोग पु¥याउने देखिएको छ ।
त्यसैगरी एच.आई.भी. मा प्रयोग गरिने लोपोनाभिर (LOPINAVIR) र रीटोनाभिरको (RITONAVIR) मिश्रणले भाइरसको जनशक्ति कम गरी लक्षणमा सुधार ल्याउन सक्ने देखिएको छ । साथै भाइरसको प्रजनन्का लागि चाहिने आर.एन.ए. लाई नष्ट गर्नसक्ने क्रिस्पर (CRISPR) प्रणाली सम्बन्धी पनि खोज भइरहेको छ ।
सामान्य लक्षणहरु जस्तै रुघाखोकी लागेमा स्वास्थ्य संस्था गइरहनुपर्र्दैन र घरेलु उपचार पद्धति नै प्रभावकारी हुन्छ । स्वासप्रस्वास सम्बन्धी समस्या, न्यूमोनिया, पुरानो रोग भएका बिरामीमा लक्षण देखिएमा भने चिकित्सकको सल्लाह लिनु नै उचित हुन्छ । जटिल समस्याहरु जस्तै ए.आर.डी.एस., न्यूमोनिया, तीब्र मृगौला क्षति आदि देखिएमा अस्पतालमै भर्ना भई लक्षण सहयोगी उपचार गर्नुपर्ने हुन्छ ।
७. जोखिमबाट बच्न के गर्ने ?
जोखिम निवारण गर्ने नै कोरोनाबिरुद्ध हतियार हुनसक्छ । यसका लागि हामीले डब्लु.एच.ओ. ले बताएका प्रमुख नियमहरुलाई पालन गर्नुपर्ने हुन्छ । सकेसम्म अत्यावश्यक कार्यबाहेक अन्य कामका लागि बाहिर नजाने, कम्तीमा पनि २ मिटरको दूरी बनाइराख्ने, बाहिर तथा जोखिमयुक्त स्थानहरुमा जाँदा मास्कको प्रयोग गर्ने, कम्तीमा ६० प्रतिशत अल्कोहलमिश्रित सेनिटाइजर प्रयोग गरिरहने, हात धोइरहने, आफूले प्रयोग गर्ने मोबाइल, पर्स, कलम, पइयो आदि सामग्रीलाई पनि नियमित सेनिटाइज गर्ने, खोक्दा वा हाछ्युँ गर्दा कुइना या रुमालले नाक र मुख छोप्ने तथा शंकाश्पद लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने गरेमा कोरोना लाग्नबाट बच्न सकिन्छ । कोरोना लागिहालेमा पनि शीघ्र स्वास्थ्यसेवा प्राप्त गरी स्वस्थ रहन सकिन्छ । तथ्यांक अनुसार ३ प्रतिशत जति बिरामीको मात्र मृत्युदर रहेको छ र स्वस्थ ब्यक्तिमा अझै कम छ तसर्थ कोरोना लागिहालेता पनि आत्तिहाल्नुपर्ने हुँदैन । त्यसैले यी नियमहरु पालन गरेर हामीले कोरोनाको भार कम गर्न सकिन्छ ।
(लेखक न्यौपाने केएमसीमा इन्टर्न गर्दैछन् ।)
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend