कञ्चनपुर । नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा एक जना प्रहरी जवानविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
बिहीबार अख्तियारले विशेष अदालत काठमाडौंमा भीमदत्त नगरपालिका वडा नम्बर ५ निवासी प्रेम बहादुर रैकालविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरेको हो।
अख्तियारले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्ति भई कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान भएको जनाएको छ।
रैकालले श्री गणेश माध्यमिक विद्यालय, भुर्सा, कञ्चनपुरबाट कक्षा ८ पास गरेको नक्कली एवं झूटा प्रमाणपत्र पेश गरी मिति २०७० असोज १५ मा नेपाल प्रहरीको प्रहरी जवान पदमा स्थायी नियुक्ति भई लाभसमेत लिएको पुष्टि हुन आएको अख्तियारको दाबी छ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको कसूरजन्य कार्य देखिन आएको हुँदा रैकाललाई कारबाहीको मागदाबी गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।