काठमाडौं । सरकारी सेवामा रहेर अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका सहसचिव चन्द्रमान श्रेष्ठले अदालतबाट सफाई पाएका छन् । अवैध सम्पत्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेअनुसार प्रमाण नपुगेको भन्दै बिशेष अदालतले उनलाई बुधबार सफाइ दिएको हो ।
उनले १ करोड ३४ लाख ५ सय ७६ रुपैयाँ सम्पत्तिको अवैध रुपमा आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल पुस २५ गते मुद्दा दायर गरेको थियो । श्रीमती जमुना तण्डुकार र नवलपरासी स्वाठीकी भगवती योगीको नाममा समेत सम्पत्ति भेटिएको भन्दै उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको थियो । तीनै जनालाई अदालतले सफाइ दिएको छ ।
बिशेषका न्यायधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलाशले सफाइको फैसला गरेको हो । प्रमाण नपुगेकाले सफाइको फैसला भएको बिशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । मुद्दा दायर हुँदा सहसचिव श्रेष्ठ वन मन्त्रालयमा थिए । उनी दुई पटकसम्म यातायात व्यवस्था विभागको महानिर्देशक भएका थिए । उपसचिव हुँदा काठमाडौंका कलंकी, डिल्लीबजार मालपोत कार्यालयका प्रमुख थिए ।
२०६० देखि २०६४ सम्म उनी डिल्लीबजार मालपोत कार्यालयका प्रमुख थिए । जुनबेला जग्गाको मूल्य रातारात आकाशिएको थियो । कलंकी मालपोत कार्यालयको प्रमुख हुँदा राजस्व रकम बैंकमा जम्मा गर्न लाने क्रममा गाडीबाट लुटियो भनी ६० लाख रुपैयाँ पचाइदिएका थिए ।