काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीलाई व्यक्तिगत लहड नभइ संस्थागत निर्णयकाे आधारमा अगाडि बढाउने बताएका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा क्षेत्रीले यस्ताे विचार राखेका हुन् ।
कार्यक्रममा उनले एेन–नियमले निर्दिष्ट गरेकाे नियमकाे परिधिमा रहेर आफ्नाे क्षमता र विवेक प्रयाेग गर्दै निस्वार्थ रुपमा आफूसँग गरिएकाे अपेक्षामा खराे उत्रने प्रण समेत गरे । उनले आफ्नाे जिम्मेवारी पूरा गर्ने शिलशिलामा कानुनले तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताएका छन्।
थापा मंगलबार नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका थिए। सरकारले वरिष्ठताका आधारमा क्षेत्रीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।
आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवाहदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो।
क्षेत्री प्रहरी प्रशासनको नीति निर्माण तहमा अब्बल मानिन्छन्। क्षेत्रीसँग विभिन्न जिल्लाको प्रहरी प्रमुख भई काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानिपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।