काठमाडाैं । कुख्यात अपराधी विकास दुबेलाई प्रहरीले पक्राउ गरेकाे छ । भारतको उत्तर प्रदेशस्थित कानपुर क्षेत्रलाई आधार बनाएर लूट, डकैती र हत्या गर्दै आएका दुबे प्रहरीकाे ‘मस्ट वाण्टेड’ सूचीमा समेत थिए ।
गत १८ असारमा भएकाे एक घटनामा दुबेले आठ प्रहरीको हत्या गरेको बताइएकाे थियाे । साे घटनापछि प्रहरीले तीव्र रुपमा खाेजी गरेकाे दुबेले सञ्चारमाध्यम र प्रहरीलाई बोलाएर आत्मसमर्पण गरेको भारतीय सञ्चारमाध्यमले जनाएकाे छ।
सञ्चार माध्यमहरुका प्रतिनिधिहरु स्थानीय एक मन्दीरअगाडि पुगेपछि उनले आफ्नाे परिचय खुलाएका थिए । त्यसको केहीबेरमा प्रहरीले उनलाई पक्राउ गरेर लगेको बताइन्छ। यूपी प्रहरीले दुबेको गिरफ्तारीको पुष्टि गरेको छ।
१८ असारको राति दुबेलाई पक्राउ गर्न कानपुरको बिठुर थाना क्षेत्र गएको प्रहरीमाथि उनको समूहले गोली चलाउँदा आठ प्रहरीको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। घटनामा दुबेका दुई सहयोगी पनि मारिएका थिए। उक्त घटनापछि उत्तर प्रदेशसहित तीन राज्यको प्रहरीले उनको खोजी गरिरहेको थियो ।
कानपुरको चौबेपुर थानामा दुबे विरुद्ध हत्या, हत्या प्रयास लगायतका ६० भन्दा बढी उजुरी दर्ता छन् । दुई दशकदेखि अपराधमा जोडिएका उनी कैयौं पटक गिरफ्तारीमा परे पनि सजाय नताेकि रिहा भएका थिए। दुबेले समूह बनाइ आपराधिक क्रियाकलाप गर्दै आएका थिए । (एजेन्सी)