काठमाडौं । चीनबाट सुरु भएकाे काेराेनाभाइरसकाे प्रभाव दक्षिण एसियाली क्षेत्रमा बढ्दाे क्रममा छ । सुरुआती समयमा कम प्रभाव परेपनि अहिले काेराेनाकाे प्रभाव याे क्षेत्रमा ह्वात्तै बढेकाे छ ।
बुधबारसम्म दक्षिण एसियाली क्षेत्रमा कोरोना संक्रमितको संख्या १२ लाख ४ हजार ४ सय पुगेको छ। यस्तैगरी संक्रमणबाट ३५ हजार ७ सय जनाको मृत्यु भइसकेकाे छ ।
भारतमा मात्रै २० हजार ६ सय ७१ जनाको मृत्यु भइसकेकाे छ । यस्तै पाकिस्तानमा २ लाख ३७ हजार ५ सय संक्रमित छन् भने ११ हजार नौ सय ३१ जनाको मृत्यु भइसकेकाे छ।
बंगलादेशमा १ लाख ६८ हजार ६ सय ४५ जना संक्रमितमध्ये २ हजार १ सय ५१ जनाको मृत्यु भएको छ। अफगानिस्तानमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ९४ पुगेको छ। ती मध्ये ९ सय ३६ जनाको मृत्यु भएको छ।
नेपालमा पनि संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगिसकेको छ। यहाँ अहिलेसम्म काेराेनाकाे कारण ३५ जनाको मृत्यु भइसकेकाे छ।
मालदिभ्स संक्रमितको संख्या २ हजार ५ सय पुगेको छ भने १२ जनाको मृत्यु भएको छ। श्रीलंकामा २ हजार ८१ जनामा कोरोना देखिएको छ भने ११ जनाको मृत्यु भएको छ।
दक्षिण एसियाली राष्ट्रमध्ये भुटानमा मात्र यसकाे प्रभाव त्यति धेरै देखिएकाे छैन । भुटानमा ८० जनामा मात्रै कोरोना संक्रमण देखिएको छ। अहिलेसम्म भुटानमा कोरोनाबाट कसैको ज्यान गएको छैन। संक्रमितमध्ये पनि ५५ जना निको समेत भइसकेका छन्।
युराेपेली राष्ट्रहरुले काेराेना नियन्त्रणमा सफलता पाएपनि दक्षिण एसियाली क्षेत्र भने अझै याे समस्याबाट बाहिर आउन सकेका छैनन् ।