Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • साढे ८ लाख घुस प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका प्रमुख गोविन्द अधिकारी पक्राउ


    बुधबार, असार २४ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • गोविन्द अधिकारी

    काठमाडौं । घुसकाण्डमा मालपोत अधिकृतसहित ५ कर्मचारी पक्राउ परेको २१ दिनपछि मंगलबार मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । २०७७ असार २ मा डिल्लीबजार मालपोत कार्यालयका मालपोत अधिकृत रघुवंश कँडेलसहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात समातिएका थिए ।

    टेकबहादुर चौलागाईले गोंगबुको ३ रोपनी जग्गा कित्ताकाटका लागि पटक पटक धाउँदा पनि नभएपछि ४८ लाख रुपैयाँ घुस दिने सर्तमा मालपोत कार्यालयका कर्मचारीसँग कुरा मिलाएका थिए । उनले अख्तियारलाई खबर गरी पहिलो किस्ताबापत ८ लाख ५० हजार घुस दिने क्रममा अधिकृत कँडेलसहित अधिकृत रघुवंश कँडेल, खरिदार नासु उद्धव सापकोटा, दीपक खनाल, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्कालाई अख्तियारले पक्रेको थियो । उनीहरु सामाखुसीको एक पार्टी प्यालेसबाट पक्राउ परेका थिए ।

    अधिकृत कँडेलसहितका कर्मचारी पक्राउपछि कार्यालय प्रमुख अधिकारीलाई भूमि ब्यवस्थापन तथा अभिलेख विभागमा सरुवा गरिएको थियो । कित्ताकाटको घुस लेनदेनमा मालपोत प्रमुख गोविन्द अधिकारीको समेत संलग्नता खुलेपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    घुस लिंदालिंदै पक्राउ परेका कर्मचारीहरुको बयानका आधारमा घुस प्रकरणमा संलग्नता देखिएपछि अधिकारीलाई नियन्त्रणमा लिइएको अख्तियारको दाबी छ ।

    शेरबहादुर देउवा सरकारका भूमिसुधार मन्त्री गोपाल दहितले २०७४ साउन २६ बाट जग्गा कित्ताकाटमा रोक लगाएपछि त्यसयता अदालतमा मुद्दा हाल्नेदेखि अंश विवाद भन्दै आनाको १ लाख रुपैयाँ घुस लिंदै मालपोत र नापी कार्यालयका कर्मचारीले जग्गा कित्ताकाट गर्दैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार