Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ महानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित


    मंगलबार, असार २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौं । काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को बजेट सुझावसहित सर्वसहमतिले पारित भएको छ । काठमाडौं महानगरपालिका नगरसभा सातौँ अधिवेशनले महानगरको आर्थिक बर्ष २०७७-०७८ को नीति तथा कार्यक्रम, आर्थिक बर्ष २०७७÷०७८ को बजेट तथा कार्यक्रम, बिनियोजन बिधेयक, २०७७ र आर्थिक विधेयक, २०७७ सर्वसहमतिले पारित गरेको हो । नगरसभाले लेखा समिति, सुशासन समिति र न्यायिक समितिको प्रतिवेदनमाथि पनि छलफल गरी कार्यान्वयका लागि आवश्यक निर्णयका लागि कार्यपालिका बैठकमा पठाउने निर्णय समेत गरेको छ ।

    असार ४ गते बसेको नगरसभा सातौँ अधिवेशनको पहिलो बैठकले नीति तथा कार्यक्रम पारित गरेको थियो । असार १० गतेको नगरसभा अधिवेशनको दोस्रो बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक विधेयक र उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७÷०७८ को बजेट तथा कार्यक्रम र बिनियोजन बिधेयक सभा समक्ष पेस गर्नुभएको थियो । त्यसैगरी असार १८ गते बसेको तेस्रो बैठकले आर्थिक विधेयक, २०७७ सर्वसमतिले पारित गरेको थियो । नगरसभा सातौँ अधिवेशनको चौथो तथा अन्तिम बैठकले आर्थिक बर्ष २०७७-०७८ को बजेट तथा कार्यक्रम र बिनियोजन बिधेयक, २०७७ सुझावसहित सर्वसहमतिले पारित गरेको हो । वजेट पारित गर्नु अघि २० जना नगरसभा सदस्यले आ–आफ्ना धारणा राखेका थिए । उनीहरुले वडास्तरीय योजनासहित काठमाडौंंको समृद्धिका लागि पहिचानयुक्त र कलात्मक योजना समावेश गनुपर्ने, विपद् व्यवस्थापन र वातावरणीय सुधारका लागि सन्तुलित कार्यक्रम हुनुपर्ने जस्ता बिषय उठाएका थिए ।

    kmc.jpg

    वडास्तरीय योजनाको एकीकृत प्रारुपबारे वडालाई जानकारी हुनुपर्ने, वडा भवनका लागि जग्गा प्राप्त हुनुपर्ने, सडक तथा ढल निर्माण र खानेपानी प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने, बिद्युतीय शवदाह गृह निर्माण, परम्परागत चिहानको सुधार र स्तरोन्नति, सिँढी, पर्खाल निर्माण, कालोपत्रे र ढलानका योजनालाई पनि समावेश गर्नुपर्ने कुरालाई नगरसभा सदस्यहरुले प्राथमिकताका साथ उठाएका थिए । प्रमुख शाक्यले अन्तिम बैठकमा सम्वोधन गर्दै सकेसम्म बजेटको सिलिङ तलमाथि नपर्ने गरी नगरसभा सदस्यहरुको भावनालाई समेट्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

    काठमाडौँ महानगरपालिकाले बजेटमा हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले घर भाडामा बस्ने नगरबासीहरुलाई पर्नगएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६-७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा बार्षिक बहाल करमा दश प्रतिशत छुट गर्ने कुरा समावेश गरेको छ । त्यसैगरी महानगरपालिकाले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बाँकी रहेको आर्थिक बर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । महानगरपालिकाले आगामी आर्थिक बर्षमा सम्पदा संरक्षण तथा सम्बर्दन र पूर्वाधार बिकासलाई महत्व दिई बजेट बिनियोजन गरेको छ । गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ ।

    महानगरपालिकाले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएको असरलाई मध्यनजर गरी होल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६-७७ सम्मको घरजग्गा कर÷सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७-७८ को सम्पत्ति करमा थप पचहत्तर प्रतिशत छुट दिने कुरा समावेश गरेको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार ब्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था पनि बजेटमा गरेको छ । उपप्रमुख श्रेष्ठले नगरसभाको दोस्रो बैठकमा आगामी आर्थिक बर्ष २०७७-०७८ का लागि रु १६ अर्व ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार