काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) छनोट गरेको छ । मन्त्रिपरिषद्ले पहिलो वरियतामा रहेका शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको नेतृत्व दिने निर्णय गरेको हाे ।
वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । यसअघि उनी एआईजी पदमा कार्यरत थिए ।
नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनको कार्यकाल २२ महिनाको हुनेछ ।
क्षेत्रीलाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । थापा र पाल एकै दिन सेवा प्रवेश गरेर बढुवामा पनि सँगसँगै थिए । तर, मन्त्रिपरिषद् बैठकले पहिलाे वरियतामा रहेका क्षेत्रीलाई नै बढुवा गरेकाे हाे ।
क्षेत्रीलाई संगठनमा भिजन भएका अधिकृतकाे रुपमा लिइन्छ । पाँच महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमाण्डको कार्यान्वयनमा सफल मानिन्छन् । क्षेत्रीले सुडान, पूर्वी टिमोर र बोस्निया मिसनमा समेत गएका थिए । क्षेत्रीले बिहीबारदेखि जिम्मेवारी सम्हाल्नेछन् ।
वर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले आगामी बुधबारबाट अवकाश पाउँदैछन् । उनले ३० वर्षे सेवा अवधिका पूरा भएका कारण बुधबारबाट अवकाश पाउन लागेका हुन् ।
आईजीपी पदका लागि थापाबाहेक हरि पाल मात्र उमेद्वार थिए। एआईजीमध्येबाट आईजीपी नियुक्त गर्ने व्यवस्था प्रहरी नियमावलीमा छ। हाल रहेका तीन जना एआईजीमध्ये तारिणीप्रसाद लम्सालले पनि बुधबारपछि अवकाश पाउँदैछन्।
प्रहरी प्रधान कार्यालय, नक्सालले बुधबार विशेष कार्यक्रम समेत राखिसकेको छ । सोही दिन पुराना आईजीपीलाई बिदाइ र नयाँ आईजीपीलाई स्वागत गर्ने कार्यक्रम पनि राखिएको कार्यालयले जनाएको छ ।