Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पर्यटन मन्त्री नेकपाका युवानेता, नियुक्ति पाउने कांग्रेसका नेता–कार्यकर्ता


    मंगलबार, असार २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । पशुपति विकास कोषमा एक सदस्यको नियुक्तिका बिषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री र सचिवबीचको खटपट भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले असार १४ मा नेपाल वायुसेवा निगमको बोर्ड सदस्यमा प्रकाश पौडेल र फुर्वाग्याल्जेन शेर्पालाई नियुक्ति गरेपछि सचिव केदारबहादुर अधिकारीले पनि भाग खोजे । उनले मन्त्रीसँग एउटा बोर्ड सदस्य आफ्नोतर्फबाट हुनुपर्ने भनेपछि मन्त्री भट्टराईले पशुपति विकास कोषको सदस्य नियुक्ति गर्नु भनेका थिए । सचिवले इलामका नेपाली कांग्रेसका कार्यकर्ता देवी बराललाई कोषको सदस्य नियुक्त गरे ।

    बरालले पत्र बुझिसकेपछि इलामका नेकपाका कार्यकर्ताले पर्यटन मन्त्री भट्टराईले कांग्रेस कार्यकर्ता नियुक्त गरेको सूचना बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसम्म पुर्याए । खनाल र नेम्वाङले कांग्रेस कार्यकर्ता नियुक्त गरेकोमा सोधीखोजी गरे । खनाल र नेम्वाङले नै आपत्ति जनाएपछि मन्त्री भट्टराईले बरालको नियुक्ति नगर्न सचिव अधिकारीलाई निर्देशन दिए । तर बरालले पत्र बुझिसकेका थिए । त्यसपछि मन्त्री भट्टराईले बराललाई पनि कामकाज नगर्न भने । बराललाई कोषमा हाजिर नगराउन मन्त्रीले भनिसकेका छन् । आफ्नो कोटामा नियुक्त बराललाई कामकाज गर्न नदिइएपछि सचिव अधिकारी रुष्ट भएका छन् । पूर्वगृहसचिव प्रेमकुमार राईको भनसुनमा बराललाई सचिव अधिकारीले बोर्ड सदस्य बनाएका थिए । मुख्यसचिव लोकदर्शन रेग्मीलाई १ महिनाअघि अख्तियार वा राजदूतमा नियुक्ति दिएर मुख्यसचिव बनाउन राईले सहयोग गर्ने आशामा रहेका सचिव अधिकारीले उनको आग्रह मान्दा सहयोग हुने ठानेर नियुक्त गरेका थिए । तर इलाम नेकपाभित्र यो बिषय उठेपछि मन्त्री भट्टराई अप्ठेरोमा परेका छन् ।

    बराललाई कांग्रेस भनेर कामकाज गर्न नदिइए पनि स्वयं मन्त्री भट्टराईले नियुक्त गरेका नेपाल वायुसेवा निगमका सदस्य फुर्वा ग्याल्जेन शेर्पा पनि सोलुको पासाङल्हामु गाउँपालिकाका कांग्रेंसका नेता नै हुन् । स्थानीय निर्वाचनमा तत्कालीन एमालेबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका ङिमदोजी शेर्पालाई हराउन फुर्वाग्याल्जेनले आफ्नो अल्टिच्यूड एयरबाट मतदाता ओसारेको नेकपाका कार्यकर्ताले बिर्सन सकेका छैनन् । उनलाई यति समूहका ल्हाक्पा सोनाम शेर्पाको दबाबमा नियुक्त गरिएको हल्ला पिटाएर उनीसँग आधा करोड आर्थिक लाभ लिइएको छ । यति समूहले प्रधानमन्त्रीमार्फत् दबाब दिइएको भनी बदनाम बालुवाटारको गराएर पर्यटन मन्त्रालयले उनीसँग कुस्त रकम लिएर नियुक्ति गरेको सोलुकै एक पर्यटन ब्यवसायीले रहस्य खोलेका छन् ।

    पर्यटन बोर्डको सदस्य हुँदा पनि फुर्वाले सोलुमा एउटा पिपलको रुखको संरक्षणका लागि तत्कालीन सीइओ सुवास निरौलासँग मिलेर ४० लाख रुपैयाँ लगेर भ्रष्टाचार गरेको बिवरण अहिले पनि पुराना फाइल हेर्ने हो भने फेलापर्ने बोर्ड स्रोत बताउँछ । फुर्वाले पर्यटन बोर्डको बजेट गुम्वादेखि विभिन्न शीर्षकमा करोडौं लगेर कांग्रेस नेता बलबहादुर केसीमार्फत् उद्घाटन र शिलान्यास गर्दै नेकपाबिरुद्ध लागेको हरेक कार्यकर्तालाई थाहा छ । तर तिनै फुर्वा नेकपाको शासनकालमा निगमको बोर्ड सदस्य भएका छन् । बराललाई कांग्रेस कार्यकर्ता भनेर नियुक्ति हुन नदिने पर्यटन मन्त्रालयले फुर्वाको नियुक्ति सच्याउँछ कि सच्याउँदैन ? यो प्रश्न सोलुका नेकपा कार्यकर्ताले गरेका छन् । उनलाई सदस्य बनाउन यति समूहले दबाब दिएको भनेर प्रचार गरिए पनि यति समूहले अहिले उनको बारेमा कुनै पनि लबिङ नगरेको स्रोतले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार