काठमाडौं । प्रहरीका हरेक डीआइजी र आइजीपीले पद सम्हाल्नासाथ नयाँ नयाँ अभियान घोषणा गर्ने गरेका छन् । तर त्यस्ता अभियान घोषणा गर्ने डीआइजी र आइजीपीले आफ्नै कार्यकालमा त्यो लागू गराउन सकेका छैनन् । ‘जीब्रोको गरिमा मिठो बोलीमा’, भ्रष्टाचार बिरुद्ध सून्य सहनशीलता जस्ता धेरै अभियान घोषणा भए । तर २०७७ असारमा मात्रै प्रहरीका ३ अधिकृत घुससहित पक्राउ परेका छन् । प्रहरीले नै १० लाख लुृटपाट गरेको समाचार समेत सार्वजनिक भएको छ ।
प्रहरीमा यस्ता घोषणा सस्तो लोकप्रियता हासिल गर्ने उद्देश्यले मात्र प्रेरित देखिएका धेरै दृष्टान्त छन् । यसअघिका आइजीपी सर्वेन्द्र खनालको पालामा करोडौं बजेट खर्च गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइयो । त्यसको पनि अत्तोपत्तो छैन । वर्तमान आइजीपी ठाकुरप्रसाद ज्ञवालीले निर्मला पन्तको हत्यारा आफ्नै कार्यकालमा पत्ता लगाएरै छाड्ने भने तर सामान्य सोधखोज पनि नगरी उनी २ दिनपछि बुधबारबाट अवकाश हुँदैछन् । ज्ञवालीको कार्यकालको अन्तिम महिना असारमा अख्तियारले लगातार प्रहरीका अधिकृतलाई घुससहित पक्राउ गरी सून्य सहनशीलताको नाराकै खिल्ली उडाइदिएको छ ।
यसैगरी महानगरीय प्रहरी कार्यालयका डीआइजी विश्वराज पोखरेलले दैनिक १ छाक जवानको मेसमा खाने र हप्तामा एक दिन उनीहरुसँगै सुत्ने अभियान पनि तुहिन पुगेको छ । सिपाहीसँग खाने र सुत्ने निर्देशनका कारण १ करोड रुपैयाँ भन्दा बढी खर्चमात्र भएको छ । सिपााहीसँग खाने र सुत्ने भनेर ल्याइएको अभियानका क्रममा खरिद गरिएका काँटा चम्चा समेत अहिले गायब भइसकेको महानगरीय प्रहरी परिसरका एक अधिकृतले नेपालफेसलाई बताएका छन् । हाकिमहरुको चर्चामा आउने मोहमा अब्यवहारिक निर्देशनका कारण यो अभियान तुहिन पुगेको उनले बताएका छन् ।
२०७६ पुस २ मा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा भएका डीआइजी विश्वराज पोखरेलले प्रहरी अधिकारीलाई दैनिक एकछाक जवानसँगै खाना खानुपर्ने अभियान ल्याए । उनले हप्तामा एकदिन जवान–हवल्दारको ब्यारेकमै सुत्न पनि निर्देशन दिएका थिए । २०७६ पुस २० मा महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा पोखरेलले त्यस्तो निर्देशन दिए । उनको त्यो निर्देशन ब्यवहारिक दृष्टिकोणले पनि उचित नभएको महसुस उपत्यकाका प्रहरी अधिकारीले गरे । तर चेन अफ कमाण्डमा चल्नुपर्ने सुरक्षाफौजमा डीआइजीको निर्देशन पालना जसोतसो केही दिन पालना पनि गरे । विश्वमा कहीँ पनि प्रहरी फोर्सभित्र जवान र अधिकृतको मेस एकै ठाउँ हुँदैन । तर नेपालमा सस्तो लोकप्रियता हासिल गर्नका लागि डीआइजी पोखरेलले कार्यालय प्रमुखलाई जवानको मेसमा खान र हप्तामा एक दिन सुत्न निर्देशन दिए ।
अधिकृत र सिपाहीको मेसका लागि भाँडाकुँडा खरिदका लागि काठमाडौं उपत्यकाका १८ वटा बृत्तमा प्रत्येकमा २ लाख ५० हजार रुपैयाँका दरले बजेटबाटै खर्च गरियो । ७३ वटा प्रभागका लागि पनि न्यूनतम १ लाखका दरले बजेटबाटै काटेर मेस ब्यवस्थापन गरिएको थियो । डीआइजीबाट पत्रकार समेत लगेर मेसको उदघाटनका नाममा समेत बजेट खर्च भएको थियो ।
महानरीय प्रहरी बृत्त काठमाडौंमा १४ वटा, भक्तपुरमा २ र ललितपुरमा २ वटा छन् । प्रभागको संख्या काठमाडौंमा ४२, ललितपुरमा १९ र भक्तपुरमा १२ वटा छ । बृत्तमा डीएसपी प्रम्ख छन् भने प्रभागमा अधिकांशमा इन्स्पेक्टर कतिपयमा सई इन्चार्ज छन् ।
प्रहरीका हाकिमको सस्तो लोकप्रियता कमाउने मोहका कारण मातहतका कार्यालय प्रमुखदेखि सिपाहीसम्मलाई सास्ती भएको थियो । आफ्नै मनखुसीले मेसमा खाना खाने जवानहरु हाकिमसँग खानुपर्दा नर्भस समेत हुने परिस्थिति निर्माण भएको थियो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले कार्यालय प्रमुखले जवानको मेसमा खाना खाने र सातामा एक दिन सुत्ने अभियान कोरोनाका कारण लागू हुन नसकेको प्रतिक्रिया दिए । सस्तो लोकप्रियता हासिल गर्ने अब्यवहारिक निर्णय भएकै कारण लागू हुन नसकेकोबारेमा उनले भने–‘उपत्यकाका सबै प्रहरी घरमै खाना खान्छन् । ब्यारेकमा बस्नेले मात्र मेसमा खाने हुन् ।’