काठमाडौँ । प्रहरीले चेक बाउन्स गरी बैंकिङ कसुर गरेको मुद्दामा फरार रहेका दुई जनालाई झण्डै चार महिनापछि पक्राउ गरेको छ।आइतबार प्रहरीले नयाँबजार बस्ने ५५ वर्षीय राजमान सुनार र धर्मस्थली बस्ने ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई पक्राउ गरेको हो।
फागुन २१ गते उच्च अदालत पाटनले सुनारलाई पाँच दिन कैद र १४ लाख ६९ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो।
त्यस्तै बस्नेतलाई फागुन १८ गते अदालतले पाँच दिन कैद र १३ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। तर उनीहरू सजाय बेरूजु गरी फरार भएका थिए।
सुनार विरूद्ध दिपक कुमार विश्वकर्माले उजुरी दिएका थिए भने बस्नेतविरूद्ध वीरबहादुर गोलेले उजुरी दिएका थिए।
उनीहरूले आफ्नो खातामा रकम मौज्दात नभएको भन्ने जान्दाजान्दै रकम भुक्तानको लागि विभिन्न बैंकको नाममा चेक काटेका थिए। त्यस दिन देखि उनीहरू फरार रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
उनीहरूको सजाय कार्यन्वयनको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ।