काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । गोरखा र रूपन्देहीका २ पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ ।
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरूषको शनिबार बिहान गोरखा अस्पतालस्थित आइसोलेसनमा मृत्यु भएको थियो। उनी गत मंगलबार कतारबाट घर फर्किएर स्थानीय जीवनज्योति माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बस्दै आएका थिए।
खोकी लाग्नेजस्ता लक्षण देखिएका ती पुरूषमा कोरोना पुष्टि भएपछि शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेसनमा लगिएको थियो। आइसोलेसनमा राखेको सात घण्टापछि उनको निधन भएको हो।
त्यस्तै रुपन्देही देवदहका ७५ वर्षीय पुरुषको टिचिङ अस्पतालमा असार १७ गते निधन भएको छ । निजको कोरोना चैत १८ गते पुष्टी भएको छ । उनी क्षयरोगका बिरामी भएको पनि जनाइएको छ ।
आज थपिएका २३२ जना संक्रमित सहित नेपालमा कुल संक्रमित संख्या १५ हजार ४९१ पुगेको छ भने ६ हजार ४१५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल तथा आइसोलेसेनबाट २७२ जना डिस्चार्ज भएको मन्त्रालयले पुष्टी गरेको छ ।