काठमाडौँ । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा पर्यटन तथा हवाई क्षेत्रले रु ३४ अर्बको नोक्सानी बेहोरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्दाबन्दी शुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्म प्रति महिना सरदर रु १० अर्बको कारोवार मूल्यको क्षति अनुमानसहित हालसम्म रु ३४ अर्ब नोक्सानी भएको जनाएको हो । आगामी साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब नोक्सानी बढ्ने पनि मन्त्रालयले आँकलन गरेको छ । नेपाल पर्यटन बोर्डले गरेको हालैको अध्ययनअनुसार पर्यटन तथा हवाइ क्षेत्रमा रु १० खर्बभन्दा बढी लगानी भएको छ ।
कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीको अवधिमा मन्त्रालयद्वारा सम्पादित प्रमुख कार्यहरुबारे जानकारी दिन मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि यही असार १५ गतेसम्मको मन्त्रालय मातहतका योजना कार्यक्रमको प्रगति सार्वजनिक गरिएको हो ।
पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अध्ययन समिति बनाइएको थियो । पर्यटन तथा हवाइ क्षेत्रमा भएको नोक्सानीको विवरण बनाइ बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाइएको र नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।रासस