काठमाडौं । ८१ वर्षको उमेरमा सङ्घनायक डा.भिक्षु ज्ञानपूर्णिक महास्थवीर अग्गमहापण्डितको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको छ ।
उनी लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगबाट पीडित रहेका थिए । उनले बुद्ध शिक्षा र विपश्यना विकासमा अतुलनीय योगदान पु¥याएका छन् ।
उनलाई उपचारका लागि दुई महिनाअघि सो अस्पताल भर्ना गरिएको भिक्षु निग्रोधले जानकारी दिए । ६ महिनादेखि डायलासिस गराउँदै आएका अग्गमहापण्डितलाई एक महिनाअघि सघन उपचार कक्षमा राखिएको थियो । उनको उपचारमा चिकित्सकद्वय ऋषिकुमार काफ्ले र विक्रम शाक्य सम्लग्न रहेका थिए ।
यसबीचमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो अस्पताल पुगी भिक्षु अग्गमहापण्डितको स्वास्थ्य अवस्थाबारे जानकारी लिइ उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।रासस