बुटवल । गुल्मीको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काका अनुसार हिजोदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका–१ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको मृत्यु भएको हो । पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।
बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी स्थानीयले बताएका छन् ।
पहिरोसँगै बास बसेका मुसिकोट नगरपालिका–२ का भागिरथ घिमिरे सम्पर्कविहीन भएका छन् । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएको प्रहरीले जनाएको छ । पानी परिरहेकाले र सडक अवरुद्ध हुदाँ उद्धारमा समस्या आएको प्रहरीले जनाएको छ ।