दमौली । प्लाष्टिकका झोला वातावरण प्रदूषण गराउने विषयलाई सचेतना जगाउँदै डिभिजन वन कार्यालय तनहुँले कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको छ । स्वच्छ वातावरण अभियानअन्तर्गत वन कार्यालयले प्लाष्टिकको झोला निषेध गर्दै कपडा वा कागजको झोला प्रयोगमा जोड दिएको हो ।
प्लाष्टिकको प्रयोगले मानिसको जनजीवनमा पनि प्रत्यक्ष असर पु¥याइरहेकाले प्लाष्टिकको झोला प्रयोग नगर्न सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम गर्नुका साथै कपडाको झोला नमूनाको रुपमा वितरण गर्ने अभियान शुरु गरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिनुभयो ।
“प्रत्येक घरबाट नै प्लाष्टिकको झोला प्रयोग गर्न बन्द गरिएमात्रै देशभर यो अभियानले सार्थकता पाउँछ”, बरालले भन्नुभयो, “बजारमा कपडा वा कागजको झोला खरिद गर्न सकिने र आफैँले पनि बनाउन सकिने भएकाले यसको प्रयोगमा अगाडी बढ्न सकेमात्रै वातावरण संरक्षण गर्न सकिन्छ ।” बरालका अनुसार घरमा त्यत्तिकै बित्ने समयको सदुपयोग गर्दै महिलाले पनि कपडाको झोला आफैँले बनाउन सक्नेछन् । “अब स्थानीयस्तरमा नै कपडाको झोला बनाउन महिला अग्रसर हुनुपर्छ, यसले समयको सदुपयोगसँगै आम्दानीको स्रोत पनि बढाउँछ”, बरालले भन्नुभयो ।
डिभिजन वन कार्यालयले व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाका स्थानीयवासीलाई कपडाको झोला प्रयोग गर्न उत्प्रेरणा दिने उद्देश्यले कपडाको झोला वितरण गरेको छ । “तरकारी किन्न जाँदा होस् वा अन्य खाद्यान्नका सामग्री किन्न जाँदा होस्, प्लाष्टिकका झोला प्रयोगमा नियन्त्रण गर्नुपर्छ”, बरालले भन्नुभयो ।
एउटा प्लाष्टिक कुहिन एक हजार वर्ष लाग्ने गरेको अध्ययनबाट पत्ता लागेको र प्लाष्टिक जलाउनु वातावरण र मानिसका लागिसमेत हानिकारक हुने भएकाले यसको नियन्त्रण नै वातावरण संरक्षणको प्रमुख उपाय रहेको बरालको भनाई छ । व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्वराज न्यौपानेले प्लाष्टिकको झोला प्रयोग नगरी कपडाको झोला प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको जानकारी दिनुभयो । नगरपालिकाले नगरक्षेत्रभित्र प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेकाले वातावरण संरक्षणको प्रमुख जिम्मेवारी स्थानीयवासीको भएको बताउनुभयो ।
व्यास नगरपालिका–४ स्थित विरता कृष्णपुर टोल विकास संस्थाका अध्यक्ष देवीमाया गुरुङले कपडाको झोला प्रबद्र्धनमा डिभिजन वन कार्यालयले चलाएको अभियान सकारात्मक रहेको बताउनुभयो । प्लाष्टिक झोला प्रयोग नियन्त्रणका लागि टोलले पनि सचेतनामूलक अभियान चलाउने र कपडाका झोला प्रयोग गर्न उत्प्रेरणा जगाउने उहाँले बताउनुभयो ।रासस