काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको विवादले कोरोना महामारी नै ओझेलमा परेको छ । र, राष्ट्रिय चर्चामा नेकपाको विवाद नै भएको छ । नेपाल कम्युनिष्ट पार्टीको विवादलाई नै आजका पत्रपत्रिकाले प्राथमिकताका साथ समाचार बनाएका छन् ।
झण्डै दुई तिहाइका साथ इतिहासको सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा पदबहाल गरेका केपी ओली अहिले आफ्नै दलमा पनि अल्पमतमा परेको समाचार आजको नयाँपत्रिका दैनिकले प्रकाशित गरेको छ । ओलीसामु अब पाँच विकल्प रहेका छन् । ती विकल्पहरुमा पहिलो, पार्टी निर्देशन पालना, दोस्रो, मध्यावधि निर्वाचन, तेस्रो संकटकाल घोषणा, चौथो पार्टी विभाजन गर्ने अध्यादेश र पाँचौंमा गठबन्धनको सरकार भन्ने उल्लेख गरेको छ ।
कान्तिपुर दैनिकले प्रधानमन्त्री ओलीले पाँच रणनीति अख्तियार गर्नसक्ने उल्लेख गरेको छ । जसमा पहिलो प्राथमिकता दाहालसँग मिल्ने, दोस्रो दुईँमध्ये एक पद रोज्ने, तेस्रो दिइएको पदमा चित्त बुझाउने, संसदीय दलको सामना गर्ने र पाँचौंमा पार्टी फुटाउन अध्यादेश ल्याउनसक्ने कुरालाई मुख्य समाचार बनाएको छ ।