काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कार्यालयको नवनिर्मित ब्यारेक भवन उद्घाटन गरिरहेका बेला हिरासतमा रहेका एक व्यक्तिले आत्महत्या गरेका छन् ।
हिरासतमा रहेका सिराहा घर भइ कोटेश्वर बस्ने दुर्गेश यादव झुण्डिएर आत्महत्या गरेका हुन् ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार उनी जबरजस्तीकरणी सम्बन्धी कसूरमा १३ असारमा पक्राउ परेका थिए । उनको कोरोना (कोभिड–१९) भाइरस परीक्षण भइनसकेकाले हिरासतको छुट्टै कोठामा आइसोलेसनमा राखिएको थियो ।
ट्वालेटमा छिरेर ननिस्किएपछि प्रहरी अधिकारीले उनलाई बोलाएका थिए । यद्यपि, नबोलेपछि गएर हेर्दा झुण्डिएका अवस्थामा भेटिएका उनलाई तत्काल पाटन अस्पताल लगिएको थियो ।
अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरे ।