Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन


    मंगलबार, असार १६ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न त्रिभुवन विश्वविद्याल(त्रिवि)ले कार्यदल गठन गरेको छ।

    सो प्रणालीका परीक्षालाई के गर्ने भन्ने बारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

    त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यदलले दिएको सुझावका आधारमा सेमेष्टर परीक्षाबारे निर्णय गर्ने बताए।

    ‘‘कार्यदलले दिएको सुझावको आधारमा हामीले परीक्षाका बारेमा निर्णय गर्ने छौँ’’, उनले भने ‘‘अहिलेसम्म सेमेष्टर प्रणालीका परीक्षाका बारेमा कुनै निर्णय गरेका छैनौँ ।’’ कोभिड १९ को कारणले त्रिविको स्नातक तहको दोस्रो, चौथो तथा स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेष्टरको परीक्षा स्थगित भएको थियो।

    वार्षिक परीक्षा सञ्चालन हुने

    उनले वार्षिकअन्तर्गतका परीक्षा भने स्थिति सामान्य भएपछि सञ्चालन गरिने जानकारी दिए। परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेकोले बन्दाबन्दी हटेपछि नियमित परीक्षा गरिने बताए।

    ‘‘अहिले सबै विद्यार्थी घर गएका छन्, बन्दाबन्दी खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुन्छ’’, उनले भने, ‘‘अनि विद्यार्थीलाई केही समय बाँकी राखेर पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गर्नेछौँ।’’ त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो।

    यसैगरी पनिकाले बन्दाबन्दीको बीचमा १४ वटा तहका परीक्षाफल प्रकाशित गरेको छ। गत वैशाख २० गतेबाट कार्यालय कर्मचारीलाई ल्याएर परीक्षाफल प्रकाशित गरिएको हो।

    उनका अनुसार स्नातक तहका व्यवस्थापन सङ्काय, मानविकी सङ्काय, शिक्षा र विज्ञान सङ्कायका द्वितीय वर्ष तथा कानून सङ्काय स्नातक र स्नातकोत्तर तह तथा मानविकी सङ्कायका स्नातकोत्तर तहका पाँच विषयमा परीक्षाफल प्रकाशित गरिएको छ।

    यसैगरी उनले चाँडै नै स्नातक तह व्यवस्थापन र मानविकी सङ्कायको प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित गरिने जानकारी दिए।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार