काठमाडौं । मुलुकको मु्ख्य प्रशासनिक केन्द्र सिंहदरवारमा नायबसुब्बाहरुले आन्दोलन गरेका छन् । संघीय निजामती ऐनको मस्यौदाका बिरुद्ध उनीहरुले आन्दोलन गरेका हुन् । राज्यब्यवस्था तथा सुशासन समितिले सोमबार पारित गरेको संघीय निजामती सेवा ऐनको मस्यौदामा नायबसुब्बाहरुको वृत्तिविकासलाई गम्भीर असर पर्नेगरी यसअघिको ब्यवस्थासमेत हटाएपछि उनीहरु आन्दोलनमा उत्रिएका छन् । नासुहरु सिंहदरवारको मूल गेटदेखि नै प्लेकार्ड बोकेर आन्दोलनमा छन् ।
संघीय निजामती ऐनको मस्यौदा कर्मचारीको हित विपरीत भएको भन्दै उनीहरू आज बिहान कार्यालय समयदेखि नै परिसर भित्र भेला भर्ई याली निकालेका छन् ।
ठूलो संख्यामा रहेका राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीको भावना विपरीत र योगदानको अवमूल्यन गर्दै मनोबल कमजोर बनाउनेगरी ऐन ल्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका नासुहरूले विभिन्न ६ वटा विषयहरू समेट्नुपर्ने बताएका छन् ।
राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)सरहको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने तर कुनै पनि साबिकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने जस्ता माग राखेका छन् ।
निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, २०४९ को व्यवस्था कायम हुनुपर्ने लगायतका माग नासुहरुका छन् ।