सुनसरी । सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैंले बोकेको पेस्तोलबाट गोली हानेर सोमबार आत्महत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेका हुन्।
जिल्ला अदालत सुनसरीका ४ नम्बर न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक्षकका रूपमा कार्यरत खतिवडाले अदालतको छतमा गएर आफूसँग भएको पेस्तोलबाट आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए।
दाहिने कञ्चटमा गोली हानी गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए। घटनाको कारण भने खुलेको छैन।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रासस