भक्तपुर । भक्तपुरमा एक व्यक्तिको हत्या भएको छ। प्रहरीका अनुसार सोमबार बिहान भक्तपुर नगरपालिका वडा नम्बर ४ गहिटीस्थित सार्वजनिक पाटीमा अन्दाजी ४५ वर्षीया कृष्ण तामाङको हत्या भएको हो ।
हत्या गरेको आरोपमा महानगरीय प्रहरी परिसर भक्तपुरले एक मजदूरलाई पक्राउ गरेको हो।
प्रहरी घटनास्थल पुग्दा उनको टाउको, निधार र चिउडोमा चोट लागेको थियो।
चोट देखिएपछि प्रहरीले कर्तव्य गरी मारिएको पुष्टि गर्दै अभियुक्तहरूको खोजीतलासी गर्दा एक मजदूरलाई पक्राउ गरेको परिसरका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए।
प्रहरीले उनको हत्याको आरोपमा सिन्धुलीका तीनपाटन गाउँपालिका घर भई हाल सोही गहिटीमा बस्दै आएका ३० वर्षीय ईन्द्रबहादुर तामाङलाई पक्राउ गरेको छ।
उनीहरूबीच आपसी विवाद हुँदा तामाङले ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको डिएसपी गिरीले बताए।
प्रहरीले थप अनुसन्धान थालेको छ।