Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रधानमन्त्रीको सम्बोधनमा एमाले देखायो खोटैखोट


    शुक्रबार, माघ ७ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा गरेको सम्बोधन अप्राकृतिक र सत्तागठबन्धनको बोझबाट पूर्णतः ग्रस्त रहेको बताएका छन् 

    उनले सम्बोधनले कुनै स्पष्ट सन्देश र दिशा प्रदान गर्न नसकेको आरोप लगाए । मुलुक चरम आर्थिक, सामाजिक संकटमा फस्दै गएको अवस्थालाई देउवाको सम्बोधनले पूर्णतः उपेक्षा गरेको उनको आरोप छ ।

    ‘गम्भीर आर्थिक संकटबाट मुलुकलाई जोगाउन ठोस कार्ययोजना अघि प्रधानमन्त्री चुक्नु भयो । विगतको सरकारले अघि सारेका कामका परिणामलाई नै आफ्नो सरकारको उपलब्धिका रूपमा चर्चा गरेर भ्रम सिर्जना गर्ने कोसिस गरेको देखियो,’ उनले भने । गठबन्धन सरकारले अघि सारेको कार्ययोजनाको कुनै ठोस उपलब्धि देखाउन नसकिने उनले बताएका छन् ।

    कोभिडको तेस्रो लहरको नियन्त्रण र रोकथाममा सरकार पुरै असफल भएको महासचिव पोखरेलको आरोप छ । ‘खोपलाई प्राथमिकतामा राखेको सरकार खोप कार्यक्रममा पूर्णतः अकर्मण्य र असफल देखिएको छ । १८ वर्ष मुनिका बालबालिकाको सुरक्षाप्रति सरकार संवेदनशील देखिएन,’ उनले भने ।

    लाखौं मात्राको भ्याक्सिन हराएको गम्भीर र संवेदनशील सूचनाका बारेमा प्रधानमन्त्रीबाट मौनता साध्ने काम भएको पोखरेलको आरोप छ । अर्थ मन्त्रालयबाट भएको भनिएको नीतिगत भ्रष्टाचारका बारेमा कुनै चर्चा नगरी त्यसलाई स्विकार्नु देउवाको कमजोरी भएको पोखरेलले बताए ।

    ‘कूटनीतिक मामिलामा सरकार पुरै असम्वेदनशील र गैर जिम्मेवार देखिएको । कालापानी क्षेत्रमा भएका पछिल्ला अतिक्रमणकारी घटनाका बारेमा सरकार पुरै लाचार देखियो,’ उनी भन्छन् ।

    आर्थिक, कूटनीतिलाई जोड दिनुपर्ने समयमा राजनीतिक पूर्वाग्रहका आधारमा राजदूत फिर्ता गरी  प्रमुख विकास साझेदार चीनलगायतका मुलुकमा राजदूत नियुक्त गर्न उदासीन हुनु पनि आपत्तिको विषय भएको उनले बताएका छन् ।

    स्थानीय तहको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगको सुझावलाई सम्बोधन गर्नबाटसमेत सरकार पन्छिएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार