कलैया । कोरोना महामारीका कारण अहिले नेपाल मात्रै होइन, विश्व नै आक्रान्त बनेको छ । कोरोनाको तेस्रो लहरका कारण सबैभन्दा बढी हाम्रो छिमेकी राष्ट्र भारत आक्रान्त बनेको छ । खुल्ला सिमानाका कारण दैनिक हजारौं भारतीय नेपाल आवतजावत गर्छन् भने नेपाली पनि सयौंको संख्यामा भारतीय भूमिमा जाने गर्दछन् । यही आवतजावतका कारणले पनि नेपालमा कोरनाको महामारी नेपालमा भयावह रुपमा फैलिएको छ ।
कोरोना महामारी नियन्त्रण गर्नका लागि नै सरकारले सिनेमाहल, जिमहलदेखि पार्टी प्यालेसमा २५ जनाको संख्या तोकेको छ भने स्कुल र कलेज बन्द गरिएको छ । सोचेभन्दा निकै बढी द्रुतगतिमा कोरोना नेपालमा फैलिएको कुरामा दुई मत छैन । तर यस्तो भयावह अवस्थामा पनि नेपालमा संचालित क्यासिनोहरू भने अझै सुचारु मात्रै होइन धेरै मिनी क्यासिनोमा त यो महामारीको फाइदा उठाउँदै खुलेआम नेपालीलाई प्रवेश गराइएको समाचार प्राप्त भएको छ ।
यस्तो महामारीका समयमा बाराको सिमरास्थित इच्छा होटलमा संचालित क्यासिनोमा नेपालीको प्रवेश व्यापक भैरहेको समेत खुलेको छ । स्माइल कलेक्सन नामक कम्पनीको नाममा संचालित उक्त क्यासिनोमा इलाका प्रहरी कार्यालय सिमराको संरक्षणमा नेपालीहरूको प्रवेश सहज छ ।
इप्रका सिमराका डिएसपी मनोजित कुँवरको संरक्षणमा नेपालीहरू क्यासिनो प्रवेश गरेको र भएको सूचना दिए पनि छापा नहान्ने र पक्राउ नगर्ने गरेको सोही इप्रकाका एक कनिष्ट प्रहरी अधिकृतले जानकारी दिए । उनले भने–डिएसपीका घुमुवाको बसउठ नै सोही क्यासिनोमा हुनेगर्छ ताकि जिल्ला वा प्रदेश प्रहरीको टोली छापा हान्न आए नेपालीहरू लुकाउन सकियोस् । इच्छा क्यासिनोको नामले यो चिनिने गर्छ । सोही क्यासिनोमा पहिले लेखापालको रूपमा रहेका जयकुमार ठगुन्नाले अहिले सो क्यासिनो संचालन गर्दै आइरहेका छन् ।
पहिले लेखापाल र पाँच प्रतिशत शेयर भएका ठगुन्नाले अहिले उक्त क्यासिनो मासिक ७० लाख तिर्नेगरी ठेक्कामा लिएको समेत थाहा भएको छ । सरकारलाई तिर्नुपर्ने रोयल्टी र होटललाई तिर्नुपर्ने भाडा बाहेक मासिक ७० लाख तिर्नेगरी उनले ठेक्कामा लिएको स्टाफहरू बताउँछन् । उक्त क्यासिनोमा गत बर्ष कोरोनाको महामारीको समयमा पनि नेपालीहरू प्रवेश गराई जुवा खेलाएको कुरा सार्वजनिक भैसकेको छ । हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको छिमेकी भएका कारण डिएसपीहरूका लागि अति उत्तम मानिने इप्रका सिमरा काज हानेर जान सफल उनको दरबन्दी पनि त्यही भएको छ । यसअघि पर्सामा कार्यरत हुँदा कुँवर आर्थिक लेनदेनका कारण धेरै विवादमा परेका थिए ।