Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सलह किरा आजबाट पश्चिमतिर सर्दै


    आइतबार, असार १४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सलहका बथान सोमबारबाट क्रमशः पश्चिमतिर सर्दै जाने पूर्वानुमान गरिएको छ । मौसमविद्का अनुसार सलह किरा हावा जता बहन्छ, त्यतैतिर उडेर जाने भएकाले सोमबारदेखि नै सलह किराहरु पश्चिमतिर सर्दै जाने अनुमान गरिएको हो ।

    मौसमविद प्रतिभा मानन्धरले सोमबारबाट अझ आज रातिबाट नै पूर्वतिरबाट हावा पश्चिमतर्फ बहने देखिएको बताए। उनले भने, ‘पूर्वबाट पश्चिम हावा बग्न थालेपछि सलह पनि हावासँगै उड्ने किरा भएकाले सलहको यात्रा पनि पश्चिमतिर हुने सम्भावना बढी छ ।’

    केही दिनयता दक्षिणतिरबाट हावा बगेको छ । त्यसैले भारतको उत्तर प्रदेशका जिल्लातिरबाट सलह नेपालसम्म आइपुगेको अनुमान छ । मौसमविद मानन्धरका अनुसार आइतबार पनि हावाको दिशा दक्षिण–दक्षिण पश्चिम छ । जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टा छ ।

    सोमबार र मंगलबार भने पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुने मौसमविद मानन्धरको भनाइ छ । सो दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने छ ।

    मंगलबार पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने छ । सो दिन पनि जमिनको सतहभन्दा १० मिटर माथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टाको हुने छ । त्यसैले हावासँगै सलहका बथान पनि पश्चिमतिर सर्ने अनुमान गरिएको हो ।

    उष्ण वातावरण मन पराउने सलह किरा मनसुन सक्रिय भएको बेला शनिबार नेपालमा भित्रिएको छ । भारत हुँदै तराई मधेशका जिल्लामा प्रवेश गरेका सलह भित्री मधेश हुँदै पहाडी जिल्लाहरुमा समेत फैलिएका छन् । यिनले पु¥याएको क्षतिको एकीन विवरण भने सार्वजनिक भइसकेको छैन । यी सलहका बथानले बालीनाली खाइदिएर कति क्षति पुर्याउने हुन् एकीनका साथ भन्न सक्ने अवस्था छैन । यद्यपि हावाको दिशा र गतिका आधारमा सलहको यात्रा एकिन गरी सतर्कताका उपाय भने अपनाउन सकिने जानकारहरु बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार