Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयल निगममा आर्थिक संकट: ६ महिनामै सवा १९ अर्ब घाटा, पेट्रोलको मूल्य अझैँ बढ्ने


    बिहिबार, माघ ६ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर वृद्धि भएपछि त्यसको व्यवस्थापन गर्न नसक्दा नेपाल आयल निगम आर्थिक संकटमा फस्ने संकेत देखिएको छ। निगमले ६ महिनाको अवधिमा करिब सवा १९ अर्ब घाटा बेहोरेको छ।

    आर्थिक वर्ष ०७२/७३ देखि निरन्तर नाफामा गएको निगम गत आर्थिक वर्षदेखि घाटामा जान थालेको थियो। गत आवमा २ अर्ब ५७ करोड रूपैयाँ नोक्सान बेहोरेको थियो। चालु आवको पहिलो ६ महिनामै १९ अर्ब २६ करोड रूपैयाँ घाटा भएको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए।

    निगमको सञ्चित नाफा शून्यमा झरेकाले अब तेल खरिद गर्न रकम अभाव हुने संकेत देखिएको निमित्त नायब प्रबन्ध निर्देशक नागेन्द्र शाहले बताए। ‘निगमसँग सञ्चित मुनाफा शून्यको अवस्थामा पुगेको छ,’ शाहले भने, ‘संस्थामा भएका सबै कोषको रकम प्रयोग भइसकेकाले कठिन अवस्था सिर्जना भएको छ।’

    शाहका अनुसार इन्धन खरिद गर्न निगमले नियमित बाहेक कर्मचारी आवास व्यवस्थापनको ३ अर्ब २६ करोड, बिक्रेता तथा जहाज कम्पनीको धरौटी बापतको १ अर्ब ४५ करोड, कर्मचारी बोनस शीर्षकमा रहेको ३ अर्ब ४७ करोड, ह्रास कोषको १ अर्ब ४२ करोड रूपैयाँ खर्च गरेको छ। अहिलेसम्म विभिन्न प्रयोजनका लागि विनियोजन गरेको रकमबाट इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गरेकोमा अब कठिन दिन आएको निगमले जनाएको छ।

    आईओसीलाई आगामि जनवरी २३ मा भुक्तानी गर्न २ अर्ब रूपैयाँ अपुग हुने आयल निगमका सह–प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए। ‘आगामी दिनमा केही मूल्य समायोजन गरिए पनि महिनाको करिब ४ अर्ब रूपैयाँभन्दा बढी घाटा रहने देखिएको छ,’ कार्कीले भने, ‘तीन महिनासम्मको लागि देशभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई न्यूनतम करिब १२ अर्ब रूपैयाँ आवश्यक पर्छ।’

    निगमले बुधबार मूल्य वृद्धि गरेको छ । मूल्य बढाउँदा पनि निगमलाई पेट्रोलमा १० रूपैयाँ ७२ पैसा, डिजेलमा ६ रूपैयाँ ३३ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६ सय ४६ रूपैयाँ १६ पैसा घाटा थियो। १५ दिनमा १ अर्ब ८८ करोड रूपैयाँ घाटा रहेको प्रवक्ता विनितमणि उपाध्यायले बताए।

    नेपाल र भारतको स्थानीय बजारको पछिल्लो मूल्य स्थिति अनुसार भारतीय बजार रक्सौलको तुलनामा वीरगन्जमा पेट्रोल लिटरमा ३५ रूपैयाँ सस्तो छ। त्यसैगरी डिजेल लिटरमा २८ रूपैयाँ, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर ५० रूपैयाँ सस्तो रहेको निगमको दाबी छ। नागरिक दैनिकमा खबर छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार