Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीमा छैन कोरोना नियन्त्रणको कुनै तयारी


    मंगलबार, माघ ४ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • महोत्तरी । महोत्तरीमा हालसम्म कोरोना संक्रमण रोकथामको कुनै तयारी गरिएको छैन। दश नगरपालिका र पाँच गाउँपालिका रहेको जिल्लामा भारतसँगको सीमामा सर्वसाधारण बिनारोकटोक आउजाउ गरिरहेका छन्। 

    कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको जिल्लामा भारत प्रवेश गर्ने १३ नाका रहेका छन् भने  ३८ किलोमिटर खुला सिमाना रहेको छ। सीमा नाकामा आवतजावत अव्यवस्थित हुँदा कोरोना संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ। संक्रमितलाई नाकामा छुट्टै राख्ने व्यवस्था नहुँदा उनीहरू बस चढेर सिधैं आ-आफ्ना गन्तव्यतर्फ लाग्ने गरेका छन्। 

    जिल्लामा गत वर्ष कोरोनाबाट ९१ जनाको मृत्यु भएको थियो भने २० हजारभन्दा बढी नागरिक संक्रमित भएका थिए।

    गतवर्ष जिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थाले समयमै कोरोना रोकथामको प्रयास नगर्दा धेरै मानवीय क्षति भएको थियो। जलेश्वर नगरपालिका-१ का रमन चौधरी नाकामा हालसम्म ‘होल्डिङ सेन्टर’ नबन्दा समस्या भएको बताउँछन्। 

    यस्तै, जलेश्वर नगरपालिका-२ का शिवचन्द्र चौधरी भारतसँग जोडिएको भिठामोड, मटिहानी, सम्सी, रघुनाथपुरलगायत नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले मास्क लगाए/नलगाएको मात्र हेर्ने गरेको बताउँछन्।

    ‘दैनिक सयौं व्यक्ति ओहोरदोहोर गर्ने गरेका छन्, नाकामा भद्रगोल छ’, उनले भने।

    भिडभाडमा कोही पनि मास्क नलगाइकन खुलेआम हिँडडुल गरिरहँदा स्थानीय तहले उनीहरूलाई लक्षित गर्दै सूचनासमेत जारी गरेका छैनन्।

    पछिल्लो समय गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेका छन्।

    नियमित औषधिकै भरमा उनीहरू घरमै बसिरहेको पाइएको छ। जिल्लाका १५ स्थानीय तहले गतवर्ष नै आइसोलेसन निर्माण गरे पनि यस वर्षको कोरोना लहरमा हालसम्म कसैले सञ्चालन नगर्दा संक्रमित कहाँ बस्ने अन्योल छ।

    जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोडमा अस्थायी रूपमा हेल्थ डेस्क सञ्चालन गर्दै आएका  स्वास्थ्यकर्मी मोहम्मद इजाजुद्दिनका अनुसार अहिले सयौंको संख्यामा भारतीय पर्यटक खोप कार्डका आधारमा नेपाल भित्रिने गरेका छन्।

    नेपालीको हकमा भने सोधपुछ र लामो समय भारतमा बसेर आएको खण्डमा खोप कार्ड भए पनि एन्टिजेन परीक्षण गर्ने गरिएको छ।

    कोरोना पोजेटिभ नतिजा आएका नागरिक पनि सोझै घर जान थालेका छन्। उनीहरूलाई राख्न ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छैन। 

    जिल्लाका स्थानीय तहलाई आइसोलेसन सेन्टर सञ्चालन गर्न र नाकाबाट आउनेलाई जाँच गरेर मात्र प्रवेश गर्न दिन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार