जनकपुरधाम । प्रदेश २ को नामकरण ‘मधेस’ राखेको विरोधमा मधेस आन्दोलनकारीकै एक समूहले प्रदेश सांसदको पुतला दहन गरेका छन् ।
यसअघि २२ जिल्लालाई मधेस भनिने गरेकोमा अब मधेसलाई ८ जिल्लामा सीमित गर्ने काम भएको भन्दै मंगलबार जनकपुरधामको जानकी चोकमा मधेस आन्दोलनकारीको युवा समूहले सांसदको पुतला दहन गरेका हुन् ।
युवा नेता सुशिल कर्णको अगुवाईमा पुतला दहन गरिएको हो । सो क्रममा आन्दोलनकारीहरुले २२ वटा जिल्लालाई मधेस प्रदेश बनाउन विगतमा पटक पटक आन्दोलन भए पछि अहिले ८ जिल्लामा मधेस सीमित गरिएको आरोप लगाए ।
कर्णले भने, ‘मिथिला भोजपुरा मधेस प्रदेश नाम राख्नुपर्नेमा प्रदेश सांसदहरुले मधेसको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रको भूभागलाई बेवास्ता गर्दै ८ जिल्लामा सीमित गर्ने काम २२ जिल्ला विरोधी हो ।’ प्रदेशको नाम मिथिला–भोजपुरा प्रदेश गर्दा यहाँको पहिचान र सांस्कृतिक पहिचान समेत झल्किन्थ्यो भन्ने उनको तर्क छ ।