काठमाडौं । लुम्बिनी विकास कोषले लुम्बिनी गुरुयोजनाबाहिर कुनै रिसोर्टका लागि कुनै संरचना बनाउन दिने निर्णय नभएको जनाएको छ ।
कोषका सदस्य सचिव सानुराजा शाक्यले सोमबार जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ–‘लुम्बिनी गुरुयोजना २ बर्षभित्र सम्पन्न गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुसार लुम्बिनी गुरुयोजनाभित्र पर्यटकको सुविधा दिने उद्देश्यले गुरुयोजनामा निर्दिष्ट गरेको क्याम्पेन ग्राउण्ड निर्माण तथा संचालनका लागि संसार वेलनेस कम्पनीको तर्फबाट सभन्ना बैद्य बस्न्यातबाट प्राप्त प्रस्ताव अनुसार उक्त संसार गुरुयोजनाले निर्दिष्ट गरे अनुसार कार्य गर्न गुरुयोजना अनुसार संचालनको कार्यविधि, सम्झौताको सर्त र सो पूर्व संरचनाहरुको ड्रइङ स्वीकृतिका लागि पेश गर्न दिने सैद्धान्तिक निर्णय मात्र भएको र यो गुरुयोजनाबाहिर कुनै रिसोर्टका लागि संरचना बनाउन दिने निर्णय नभएको जानकारी गराउन चाहन्छु ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष प्रेमबहादुर आले र लुम्बिनी विकास कोषका अध्यक्ष भिक्षु मैतयबीचमा कपोलकल्पित र भ्रम सृजना हुनेगरी प्रेषित समाचार गलत रहेको शाक्यको बिज्ञप्तिमा उल्लेख छ । कोषका उपाध्यक्ष भिक्षु मैतय नियमित प्रत्येक बर्ष क्यानडामा डिसेम्बरदेखि २ महिना धर्म प्रचार तथा ध्यान सिकाउन कार्यतालिका अनुसार मन्त्री आलेको स्वीकृतिमा जानुभएको हो । विभिन्न जनप्रीय कदमका कारण लोकप्रिय हुनुभएका मन्त्री आलेलाई बदनाम गर्ने उद्देश्यले मात्र लुम्बिनीसँग जोडिएर समाचार प्रकाशित भएकोमा कोषले दुःख प्रकट गरेको छ ।