काठमाडौं । काठमाडौंको गुर्जुधारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ भने अर्का एक जना घाइते छन् ।
महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो ।
हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् ।
‘दुई पक्षबीच झगडा भएको जस्तो देखिन्छ। मृतकका साथीहरू पनि हिजो त्यहीँ भएको देखिन्छ,’ उनले भने, ‘दुई जनालाई हामीले नियन्त्रणमा लिएका छौं।’
अहिले पक्राउ परेका व्यक्तिहरूको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।
एक जनालाई गुर्जुधाराबाट आइतबार र अर्का व्यक्तिलाई सोमबार धादिङबाट पक्राउ गरी काठमाडौं ल्याइँदै गरेको प्रहरीले जनाएको छ।
उनीहरूबीच के कारणले झगडा भएकोबारे पनि प्रहरीले खुलाएको छैन।