काठमाडौँ । आज ५ सय ९३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
त्यस्तै, विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भई डिस्चार्ज भएको गौतमले बताए । शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ । मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ । रसुवाबाहेकका सबै जिल्लामा कोरोना का बिरामी देखिएका छन् ।
विगत २४ घण्टामा ६ हजार ५ सय ३४ जनाको पिसिआर परीक्षण गरिएको जानकारी गौतमले दिएका छन् । हालसम्म २ लाख ६ हजार बढीको पिसिआर परीक्षण भएको छ ।