Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सेनाका लागि चीनबाट ल्याएको चुस्ता जफतः ठेकेदार बस्नेत र भट्टलाई ९ लाख जरिवाना


    आइतबार, माघ २ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • सिन्धुपाल्चोक । तातोपानी भन्सार कार्यालयले गएको पुस दोस्रो साता बरामद गरेको नेपाली सेनाका लागि प्रयोग हुने क्यामोफ्ल्याग (चुस्ता) जफत गरेको छ । भन्सार कार्यालयले बरामद गरेको २९ हजार मिटर चुस्ता जफत गरी आयातकर्ता जयसलिना र एडी सप्लायर्स जेभीलाई ९ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

    तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले जयसलिना र एडीले क्यामोफ्ल्याग ल्याए पनि त्यो कसका लागि ल्याएको हो भन्ने पत्र नल्याएपछि करिब ९ लाख रुपैयाँ जरिवाना गरिएको बताए । उनले भने, ९ लाख रुपैयाँ जरिवाना गरी क्यामोफ्ल्याग जफत गरिएको छ । उक्त जफत सामान लिलाम पनि गर्न नमिल्ने उनले जानकारी दिए । सेनाका लागि मात्र प्रयोग हुने भएकाले उक्त सामान लिलाम गर्न मिल्दैन । नष्ट गर्नुपर्छ ।

     जयसलिना र एडी सप्लायर्स जेभीले नेपाली सेनाका लागि आवश्यक पर्ने चुस्ता(क्यामोफ्ल्याग) नेपालमै उत्पादन गर्ने भनेर ठेक्का लिएका थिए । कोहिनुर टेक्सटाइल बीरगञ्जमा उत्पादन गर्ने भनी ठेक्का लिएका जयसलिना र एडी सप्लायर्सले सुटुक्क चीनबाट चुस्ता आयात गरेको तातोपानी भन्सार कार्यालयले बरामद गरेपछि खुलासा भएको हो । तातोपानी भन्सारले उक्त चुस्ता बरामद गरेपछि ठेकेदारहरुकोे कीर्ते कार्यको खुलासा भएको थियो । नेपालफेसले उक्त समाचार सार्वजनिक गरेको थियो ।

    जयसलिना र एडी सप्लायर्सले उक्त चुस्ता नेपालकै बीरगंजमा रहेको कोहिनुर टेक्सटाइल उद्योगमा उत्पादन गर्ने भनेर १० प्रतिशत महंगो दरमा ठेक्का पाएका थिए । नेपाली उत्पादनलाई १० प्रतिशत बढी दरमा खरिद गर्ने नीति सरकारको छ । त्यही नीति अनुसार सेनाले चुस्ता(क्यामोफ्ल्याग)को उत्पादन गर्ने कोहिनुरको उत्पादनस्थलमै उपरथीको नेतृत्वमा ११ जनाको टोली पठाई उद्योग भिजिट गराएको थियो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सार्वजनिक खरिद ऐनमै १० प्रतिशत सहुलियत दिने ब्यवस्था गरिएको छ । तर त्यसको दुरुपयोग जयसलिना र एडी सप्लायर्सले गरेका छन् ।

    चुस्ता उत्पादन गर्ने कोहिनुरको सहमति र टेक्सटाइलको उद्योग भिजिटपछि सेनाका उपरथी नेतृत्वको टोलीले नेपालमै उत्पादन हुने राय दिएपछि जयसलिना र एडी सप्लायर्र्सलाई ठेक्का दिएको थियो । करिब १५ करोड बराबरको उक्त ठेक्का पाएपछि जयसलिना र एडीले नेपालमा उत्पादन नगरी चीनमा उत्पादन गर्न दिए । र, चीनमा उत्पादन गरी नेपालमा ल्याउने क्रममा तातोपानी भन्सार कार्यालयले उक्त चुस्ताको बारेमा छानबिन सुरु गर्यो ।

     सेनाको चुस्ता भनेर जयसलिनाका संचालक ज्ञानेन्द्र बस्नेत र एडीका संचालक झम्कनाथ भट्टले छुटाउन पनि खोजे । तर तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले सेनाको पत्र पेश नगरेसम्म चुस्ता नछाड्ने अडान लिएपछि उनीहरुको डिजाइन असफल भएको थियो । ज्ञानेन्द्र बस्नेत र झम्कनाथ भट्ट सेनापति प्रभुराम शर्मा भारतमा उपचार गर्न गएको बेला सुटुक्क पत्र लगेर सामान छुटाउने चलखेलमा पनि लागेका थिए । तर समाचार सार्वजनिक भएपछि उनीहरुको योजना चकनाचूर भएको थियो ।

    भन्सार प्रशासक गौतमलाई सेटिंग गर्न खोज्दा उनले ठाडै अस्वीकार गरेका थिए । बस्नेत नेपाल प्रहरी, सशस्त्र प्रहरी बलमा सेटिंग गरी छोटो समयमा अकूत सम्पत्ति आर्जन गर्नेमध्येमा पर्दछन् । भट्ट सेनाका ठेक्कामा सेटिंग गर्दैआएका ठेकेदार हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार