काठमाडौँ । एक सातादेखि तीव्र गतिमा वृद्धि हुँदै गएको कोरोना संक्रमणसँगै उपत्यकाका मुख्य कोभिड अस्पतालमा बिरामी भर्नादर वृद्धि हुँदै गएको छ।
एक साताअघिसम्म १३ जना कोरोना संक्रमित रहेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बिहीबार ३८ जना पुगेका छन्। तीमध्येमा नौजना गत २४ घण्टामा भर्ना भएका हुन्। २७ जना जनरल वार्ड र ११ जना आइसियुमा रहेको अस्पतालका कोभिड १९ संयोजक डा. निरज बमले बताए।
संक्रमित बढ्न थालेपछि अस्पतालले ननकोभिड वार्डलाई कोभिडमा विस्तार गर्न सुरु गरेको डा. बमले बताए। १८ वटा आइसियु बेड र जनरल वार्डका २० बेड कोभिड बिरामीका लागि भनेर छुट्याएका थियौं। अब ननकोभिड वार्डलाई पनि कोभिड बनाउनुपर्ने भयो’, उनले भने।
यस्तै युनिफाइड कोभिड अस्पताल वीरमा बिहीबारसम्म भर्ना भएका संक्रमितको संख्या ४६ पुगेको छ। ‘दस दिनअघिसम्म वीरमा कोभिडका बिरामी ८ जनामात्र थिए, अहिले बढिरहेका छन्’, अस्पतालका संयोजक डा. प्रज्वल श्रेष्ठले भने।
भर्ना भएका बिरामीमध्येमा ८ जनाको आइसियु, ४ जनाको भेन्टिलेटर र ५ जना हाइडिपेन्डेन्सी युनिटमा उपचार भइरहेको छ। कोरोना संक्रमण भएर भर्ना भएकामध्ये धेरैजसो क्यान्सर, मिर्गौला, दम तथा मधुमेहका बिरामी छन्।
भर्ना भएका बिरामी ३० वर्षमाथिका छन्। तीमध्ये केहीले खोप नलिएका र केहीले खोप लिएको डा. श्रेष्ठले बताए। भर्ना भएकामा कोरोनाको दोस्रो लहरमा जस्तो सिकिस्त हुने दर भने कम रहेको उनको भनाइ छ। वीरमा भर्ना भएका मध्ये १३ जना एउटा पनि खोप नलिएका, २५ जना पूरा मात्रा खोप लिएर ६ महिना पुगिसकेका बिरामी छन्।
गम्भीर दीर्घरोगी र वृद्धवृद्धा सिकिस्त भएको डा. श्रेष्ठले बताए। ‘दोस्रो कोरोना लहरमा जस्तो संक्रमित संख्याको अनुपातमा भर्ना हुने दर कम छ, सिकिस्त हुने दर पनि कम छ’, उनले भने। श्रेष्ठका अनुसार दोस्रो लहरमा प्रतिदिन २ सय जना संक्रमित भएमा २० देखि ३० जना अक्सिजन चाहिनेगरी भर्ना हुन्थे। तीमध्ये ५० प्रतिशतलाई आइसियु चाहिने अवस्था रहन्थ्यो।
शुक्रराज सरुवा रोग अस्पतालकी निर्देशक डा.मनिषा रावलले पनि संक्रमित संख्याको अनुपातमा भर्नादर यो पालि कम रहेको बताइन्। उनको अनुसार उक्त अस्पतालमा बिहीबारसम्ममा १२ जना कोभिड १९ का बिरामी भर्ना भएका छन्। नागरिक दैनिकमा खबर छ।