ललितपुर । लागूऔषध नियन्त्रण ब्यूरोले बिहीबार पक्राउ गरेका महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत इन्स्पेक्टर रुद्र शाही लागूऔषधको कारोबारीमामात्र होइन, सेवनकर्ता समेत भएको खुलेको छ । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले कार्यालयबाटै पक्राउ गरेको हो । उनले आफ्नै कारमा तराईबाट कोरेक्स नामक लागूऔषध ल्याउने क्रममा पक्राउ गरेको हो । उनी लागूऔषधका कारोबारीमात्र होइन, सेवनकर्ता समेत भएको प्रहरी स्रोतले बताएको छ ।
उनी महानगरीय ट्राफिक प्रहरी महाशाखामा असई हुँदादेखि कार्यरत थिए । ट्राफिकको चोरी शाखामा असई हुँदादेखि सई हुँदासम्म कार्यरत उनको गाडीदेखि मोटरसाइकल चोरी गर्ने गिरोहसँग पनि कनेक्सन रहेको थियो । चोरीका गाडीका कारोबारी अनु प्रधानदेखि मोटरसाइकल चोरीका डन दीपेन्द्र श्रेष्ठ दिपुसँग पनि उनी लाभ लिनेमा पर्दछन् ।
शाहीले तीन बोरा कोरोक्स आफ्नो गाडीमा राखेर तस्करी गरेका थिए । इन्सपेक्टर शाही लामो समयदेखि लागूऔषध कारोबारमा संलग्न रहेको खुलेको छ ।