मोरङ । जिल्लाको उर्लाबारी नगरपालिका – ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा आज बिहान ट्याक्टरको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार मृत्यु हुनेमा उर्लाबारीस्थित नेपाल दर्शन कलेजमा अध्ययनरत विद्यार्थी निश्चल बानियाँ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ – ०१०१२ प ७१५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी ७ का २१ वर्षीय बानियाँको मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका – ६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।